शिक्षकको दुर्व्यवहार घटनाले लेटाङ तनावग्रस्त : प्रहरी जवान श्रेष्ठको मृत्युपछि कर्फ्यु लागु


लेटाङ, ७ चैत । मोरङको लेटाङमा यौन दुर्व्यवहारका आरोपित पक्राउ गर्न गएका प्रहरी टोली र स्थानीय बिच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ । लेटाङ नगरपालिका–५ खेरुवामा प्रहरी टोली र स्थानीयको आक्रोशित अनियन्त्रित भिड बिच भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीको मृत्युले तनावग्रस्त बनेको लेटाङमा सोमबार बिहान ७ बजेदेखि कर्फ्यु लगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अर्को निर्णय नभएसम्म लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गंगेचौक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र र उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा बिहान ७ बजेदेखि कर्फ्यु लगाउने निर्णय भएको हो ।

लेटाङ ५ खेरुवास्थित शिक्षा विकास मा.विका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि होलीका दिन दुर्व्यवहार गरेको घटना आइतबार सार्वजनिक भएको थियो । बिहान ७ बजे प्रहरीले शिक्षकलाई प्रहरी कार्यालय लग्ने क्रममा विद्यालय पुगेका स्थानीयको आक्रोशित भिडद्वारा प्रहरी र शिक्षक माथि नै हातपात भएको थियो ।

स्थानीयले शिक्षकलाई नियन्त्रणमा लिएर कुटपिट गर्न खोजे पछि प्रहरीद्वारा रोक्ने प्रयासमा झडपको स्थिति सृजना भएको थियो । आक्रोशित भीडले सवारी साधनमा आगजनी र तोडफोड पनि गरे । स्थिति तनावग्रस्त भए पछि प्रहरीले हवाई फायर र केही सेल अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीका अनुसार झडपमा दुई विद्यार्थी र १६ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्