लेटाङमा बिहान ७ बजेदेखि कर्फ्यु जारी


मोरङ, ७ चैत । मोरङको लेटाङमा सोमबार बिहान ७ बजेदेखि कर्फ्यु जारी गरिएको छ । यौन दुर्व्यवहारका आरोपित पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडको आक्रमणबाट एक महिला प्रहरीको मृत्यु भएपछि तनावग्रस्त बनेको लेटाङमा कर्फ्यु जारी गरिएको हो ।

आइतबार साँझ भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि दुर्व्यवहार गरेको विषयलाई लिएर विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसिरहेको समयमा आक्रोशित भीडले शिक्षकलाई नियन्त्रणमा लिएर उनीमाथि कारबाही गर्ने प्रयास भएको र सो स्थितिलाई नियन्त्रणमा लिन पुगेको प्रहरीसँग झडप भएको बताइएको छ ।

आक्रोशित भीडले सवारी साधनमा आगजनी र तोडफोड गर्नथालेपछि प्रहरीले हवाई फायर र केही सेल अश्रुग्याँससमेत प्रहार गर्नु परेको थियो । घटनामा दुई विद्यार्थीसहित १६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना मार्फत सोमबार बिहान ७ बजेदेखि अर्को निर्णय नहुन्जलेसम्मका लागि कर्फ्यु लगाउने निर्णय गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले स्थितलाई नियन्त्रणमा लिन, थप क्षति हुन नदिन कर्फ्यु लगाइएको बताएका छन् । उनका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गंगेचौक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र र उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइको हो ।

प्रतिक्रिया दिनुहोस्