अधिकारकर्मीको टोलीले सुन्दरहरैँचाकी बालिका बलात्कारपछि हत्या घटनाको अनुगमन


मोरङ, २ चैत्र । अधिकारकर्मीको टोलीले सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका–७ की डेढ वर्षीय बालिकाको परिवारलाई भेटघाट गरेको छ ।

इन्सेकसहित राष्ट्रिय मानव अधिकार आयोग, सिविन, माइती नेपाल र आफन्त नेपाललगायतका सामाजिक संस्थाले पीडित बालिकाको परिवारलाई भेटेर घटनाको बारेमा जानकारी लिएको हो ।

इन्सेक प्रदेश १ कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले सामूहिक बलात्कारपश्चात् हत्या गरिएकी बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिएको बताए ।

घटनाको विषयमा जानकारी लिएपछि आर्थिक अवस्था कमजोर रहेको पीडित परिवारलाई इन्सेक, माइती नेपाल र आफन्त नेपालले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

गत फागुन २७ गते अपहरण गरी बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र सोही ठाउँका २८ वर्षीय मिथुन चौधरीलाई फागुन २८ गते गिरफ्तार गरी फागुन २९ गते सार्वजनिक गरिसकेको छ ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न पहल गरिदिन अधिकारकर्मीसँग आग्रह गरेको छ । यस अघि पनि महिला अधिकार मञ्च लगायतका संस्थाले दोशीले उन्मुक्ति पाउनु नहुने भन्दै प्रशासनलाई ध्यानाकर्षण गराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्