तारा पराजुली –
प्रिय क्यामोमाइल !
तिम्रो प्रेमको सुवास
जब हावामा सरोवरी सवार थाहा पाएँ
तिमीलाई हेर्न
हतार हतार तिम्रो शहर पसेँ।
एउटा भव्य उत्सव जस्तो
जब तिम्रो फूलबारी पुगेँ
मैले सुनेभन्दा सुन्दर तिम्रो रूप
दुनियाँले बयान गरेभन्दा भिन्न
तिम्रो बास्नामय ओझ
र मैले कल्पना गरेभन्दा अझ सुन्दर
कद मिलेको तिम्रो बैँस
सत्य तिमीछेउ पुगेपछि
तिम्रो वर्णन गर्ने शब्द नै मौन रहे
उमङ्गले छोपिएर।
भर्खरै जग्गेमा राखिएकी घरानीय बेहुली झैँ
तिमी सिम्फोनी चित्रहरूमा सजियौँ थुँगा थुँगा
तिमी निरन्तर अभिनयको इन्द्रेणी फ्रेममा
तिमी सौन्दर्यको अग्लो उचाइमा
नयाँ पुस्ता
जवान पुस्ता
र मिश्रित पुस्ता
यसरी झुमेको देखेँ तिमी सौन्दर्यमाथि
जस्तो कि मौरी झुम्मिन्छ रसमा
जस्तोकि भमरा झुम्मिन्छ फूलमा
हरेकको रहरको केन्द्र बन्यौ
साबिककै छाया चित्र
आधुनिक टिकटकहरुमा
थुप्रै अखबारका पृष्ठहरूको हेडलाइन बन्यौ।
अनेक मनोरमहरूमा
तिम्रो बगैँचामा म हराएको
तिमी फूलको पत्र पत्रमा
मैले जीवनको सार खोजे
तिमी चुपचाप मुस्कुराइरह्यौ।
सुनेको हुँ तिमी सञ्जीवनी हौ
दुखाइहरूको भरपर्दो औषधी हौ उपचार हौ
हजारौँ दीर्घ दुखाइ र जलनहरू
निस्तेज हुन्छन् तिम्रो उपस्थितिमा।
तिम्रो व्यक्तिगत खातामा सुरक्षित होलान्
प्रेमले छाडिगएका मायालु दस्तखतहरू
माया सुमसुम्याएर तिमीलाई
हजारौँले स्पर्श गरेर गए
एउटा उत्सुकता
खाली मनोविज्ञानभरि भरेर गए।
सुनेको हुँ माकुराले
आफ्नै सन्तानबाट आफूलाई जोगाउनुपर्छ सुनेको हुँ
प्रेम गर्ने बहानामा
किनारले आफैँले सुरक्षा दिएको धारसँग
हरदम रेटिनुपर्छ खिइनुपर्छ
मन्दिरमा चढ्ने निहुँमा फूलले
आफैँलाई हुर्काउने मालीसँग चुडिंनुपर्छ
तिमी जडी औषधी हौ रोगहरूको
प्रिय क्यामोमाइल१
तिमीले पनि आफैलाई प्रेम गर्नेहरूसँग
खुब होसियार भएर जोगिनुपर्छ।
प्रिय क्यामोमाइल१
तिमी जडी औषधी रोगहरूको
तिमी बुटी हौ दुखाइहरूको
फेरि आउँदा
यी केही विवेकहीन मान्छेहरूको
गुमेको विवेकको औषधी बनेर
आउनू है !