मोरङ, १९ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा छ वटा दलले मात्र दलीय चुनाव चिन्ह पाएका छन् ।
स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका ८० दलमध्ये ६ वटा दलले मात्र आफ्नो दलीय चुनाव चिन्ह पाउने भएका हुन् ।
स्थानीय तहको निर्वाचनमा भाग लिने प्रयोजनले आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको आह्वान गरेको थियो । दल दर्ता गराए पनि मौजुदा कानुनी प्रावधानले गर्दा ती दलले आफ्नो दलको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने स्थिति रहेको छ ।
हाल आयोगबाट मान्यता पाएका दलको सङ्ख्या भने एक सय १० पुगेको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ ले राष्ट्रिय मान्यता प्राप्त दलले मात्रै चुनावमा निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ ।
निर्वाचन चिन्ह पाउने दलहरूमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय दल रहेका छन् ।