राष्ट्रसंघद्वारा युक्रेनी क्षेत्रबाट तत्काल रुसको सैन्य बल हटाउन माग


काठमाडौँ, १९ फागुन । संयुक्त राष्ट्र सङ्घले युक्रेनी क्षेत्रबाट रुसको सैन्य बल तत्काल पूर्णरुपमा बिनाशर्त हटाउन माग गरेको छ । गए राति भएको ११औँ विशेष महासभामा युक्रेनमाथि रुसले जारी राखेको कारबाही तत्काल रोक्ने प्रस्ताव बहुमतले पारित गर्दै यस्तो निर्णय गरेको हो ।

महासभाले युक्रेनमाथि भइरहेको रुसी आक्रमण तत्काल रोक्न आग्रह गरेको हो । महासभामा नेपालसहित १ सय ४१ देशले प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
नेपालका तर्फबाट महासभामा बोल्दै राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल जुनसुकै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

नेपाल वुद्धभूमि भएकाले पनि शान्ति प्रेमी देश भन्दै राईले शान्ति स्थापनका लागि कूटनीति र संवादको विकल्प नभएको उल्लेख गरे । यो प्रस्तावको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, एरिट्रिया र सिरियाले मात्र मतदान गरेका छन् । तर चीन, भारत, पाकिस्तान, दक्षिण अफ्रिका लगायत ३५ देश तटस्थ बसेका छन् ।

संयुक्त राष्ट्र महासभा प्रमुख अब्दुल्ला शाहिदले प्रस्तावको नतिजाले युक्रेनमाथिको आक्रमणले विश्व समुदाय चिन्तित भएको दर्साएको बताए । महासचिव एन्टिनियो गुटरेशले महासभाले शान्तिको आवाज बुलन्द गरेको भन्दै युक्रेनमा दुस्मनीको अन्त्य होस्, बन्दुक बन्दहोस् र संवादका लागि कूटनीतिक दरबाजा खुला होस् भन्ने सन्देश दिएको बताए ।

१ सय ९३ देश रहने संयुक्त राष्ट्र सङ्घ महासभाले युक्रेनको सम्प्रभुता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई पुष्टि गरेको छ । सन् १९५० पछि संयुक्त राष्ट्र सङ्घमा यस्ता विशेष महासभा १० वटा मात्रै भएका छन् ।

प्रतिक्रिया दिनुहोस्