आगामी निर्वाचनमा एमालेसँग गठबन्धन हुन सक्ने लोसपा अध्यक्ष ठाकुरको भनाइ


मोरङ, १८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग गठबन्धन हुन सक्ने बताएका छन् । हिजो जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले यस्तो विचार व्यक्त गरेका हुन् ।

अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुनसक्ने सम्भावना रहेको बताए । उनले भने ‘हाम्रो एमालेसँग कुनै असन्तुष्टि छैन । हिजो पनि हामी साथमै थियौँ । तसर्थ आउँदो स्थानीय तह निर्वाचनका लागि एमालेसँग छलफल हुन सक्छ ।’

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरूले तत्कालीन् केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि लोसपा नेपाल भने ओलीलाई समर्थन गरेको थियो । यही आधारमा लोसपाले एमालेसँग गठबन्धन हुन सक्ने बताएका हुन् । यद्यपि एमालेले भने यसबारेमा केही बोलेको छैन ।

प्रतिक्रिया दिनुहोस्