व्याख्यात्मक घोषणालाई एमालेले दियो कागजको खोस्टाको संज्ञा


काठमाडौँ, १६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदबाट पास भएको व्याख्यात्मक घोषणालाई कागजको खोस्टोको संज्ञा दिएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रमुख सचेतक कार्कीले आइतवार संसदबाट पास गरिएको व्याख्यात्मक घोषणालाई कागजको खोस्टोको संज्ञा दिँदै यसको कुनै राजनैतिक तथा कानुनी अर्थ नरहेको बताएका छन् । यसलाई सत्तारुढ दलले फेस सेभिङ गर्न खोजिएको आरोप लाए ।

सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने ‘यसको न राजनीति अर्थ छ, न कानुनी न कुनै नैतिक अर्थ छ । कुनै अर्थ बेगरको कागजको खोस्टो पारित गरेर अलिकति फेस सेभिङ गर्नका लागि उहाँहरूको प्रयास निरर्थक छ ।’

निकै महत्त्वका साथ हेरिएको एमसीसी हिजोको संसद् बैठकबाट पारित गरिएको छ । आम नेपालीले विरोध गरेको यो संझौता अन्ततः अनुमोदन भएको छ ।
एमालेको संसद् अवरोधकैबिच यो संझौता पारित भएको छ । एमालेले आफूलाई एमसीसी संझौता विरुद्धमा रहेको भनाउन खोजे पनि एमसीसीका सवालमा सबै ठूला राजनैतिक दलहरू एउटै कित्तामा देखिएका, सबैको उद्देश्य यो संझौता अनुमोदन गराउनु नै रहेको विश्लेषकहरू बताउँछन् ।

काँग्रेसले खुलेर समर्थन गर्नु, माओवादी केन्द्र लगायतका सत्तारुढ दलले विरोध गरेजस्तो गर्नु, अन्तिममा व्याख्यात्मक टिप्पणीसहित पास भन्नु र प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध गर्नु, एमसीसीका बारेमा आधिकारिक धारणा सार्वजनिक नगर्नु जस्ता कार्य एमसीसी पास गराउने योजना मात्र थिए भन्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्