प्रहरीले श्रीमानको हत्या गरी टुक्र्याएर जङ्गलमा फाल्ने कान्छी श्रीमती र प्रेमीलाई गर्‍यो सार्वजनिक


मोरङ, ११ फागुन । प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने महिला र उनका प्रेमीलाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले हिजो (मङ्गलवार) पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।

प्रहरीले हत्या गरिएका दमक नगरपालिका ५ ठेगाना भएका दिनेश सिग्देलकी कान्छी श्रीमती ३० बर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारीलाई सार्वजनिक गरेको छ । अनिताले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरी पौष २३ गते शरीर टुक्र्याएर धरानको जङ्गलमा फालेकी थिइन् ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले हत्या योजनावद्धरुपमा गरेको फेला परेको बताएका छन् ।

करिब १० वर्षअघि दिनेश र अनिताको विवाह भएको थियो । दिनेशले अनितासँग दोस्रो विवाह गरेका थिए । हाल उनीहरूका ७ बर्षीया एक जना छोरी छिन् ।

बराह क्षेत्र १० प्रकाशपुर ठेगाना भएका उनका प्रेमी सरोज भण्डारी विराटनगर महानगरपालिका ४ इक्राही टोलमा बस्दै आएका छन् । सिटी सफारी चलाउने विवाहित रहेका भण्डारीको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र सम्बन्ध विच्छेदको क्रममा रहेको प्रहरीले जनाएको छ ।

बहराइनमा रहेका दिनेश अनिताको सम्बन्ध सरोजसँग बढेको भन्ने थाह पाएपछि थाहै नदिई १५ दिनको बिदा लिएर नेपाल आएका थिए । नेपाल आएको पर्सी अर्थात् पुष २२ उनको हत्या भएको थियो । र २३ गते उनको शरीर टुक्रा टुक्रा पारेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

एक्कासि दिनेश बराइनबाट आउनु र अनिता र सरोजको सम्बन्धमा रोकावट आउनु नै दिनेशको हत्याको कारण भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्