तारा पराजुली
प्रिय लुम्बिनी !
यो चिसो याममा पनि
तिम्रो काखमा बसेर
न्यानो स्पर्श महसुस गर्दै छु ।
यो कन्चन माटो
आनन्दको भूमि
देखिने गरी उडिरहेको छ
विचित्रको शान्ति बिम्ब
सिजनको काँसको फूलजस्तै मेरो अघिल्तिर ।
उता पैताला घोच्ने तुसारो
यहाँ आइपुग्दा फूलजस्तो नरम भएपछि लाग्यो कि,
बुद्धत्वले मत्थर बहँदै छ यो सिरेटो
प्रेमको आभास बोकिहिँड्ने भुईँ कुहिरो
उपवनको सुवासले
पलपल मगमगाईरहने मौसम
हरदम तिमी तिरै तानिरहने
एउटा फरक लय
खुब मन परेको हो मलाई ।
सुनेको थिएँ
सौर्य सम्राट् अशोकको तीर्थाटन
पढेको हुँ स्मरणका भए जति पृष्ठहरू
हेरेको हुँ अजम्बरी अक्षरमा
कुँदिएका शान्तिका प्रतिमूर्ति ।
आवेगको आगो समेत निभाउने
अहंकारको समुद्र छेकिदिने
यो अथाह शक्ति तिमीले बाँडेको हो
पहिलो पटक यो भूमिबाट
अहिंसा र प्रेमको पहिलो दीप
तिमीले नै बालेको हो
यो माटोमा सबैभन्दा अघि ।
टेकेर कहिल्यै नथाक्ने तिम्रो छाती
हिँडेर कहिल्यै नसकिने
यो सद्भावको बाटो
लेखेर नसकिने तिम्रो कथा
पढेर नसकिने तिम्रो शक्तिको तेज र क्रेज
तिमीलाई के उपमा दिऊँ ?
तिम्रो आँगनमा उज्यालो हुन घाम आउनु पर्दैन
न साँझपछि अँध्यारोको उदय हुन्छ सत्यले कहिल्यै डराउनु पर्दैन
कर्मको खेती खुब फस्टाएको छ पसिनाको बुँद बनेर ।
हेर त !
अझै बगैँचाको सालबोट मुस्कुराई रहेछ
एउटा युग जन्माउने
मायादेवीको अमर कोख सम्झिएर ।
बेलबारी मोरङ