झापामा एक जना महिलाले एकैपटकमा तीन सन्तानलाई दिइन् जन्म


झापा, १८ पौष । झापाकी एक जना महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । हल्दीबारी गाउँपालिका–२ की नेत्रमाया पराजुलीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् ।

पराजुलीले झापाको मनमोहन अस्पताल बिर्तामोडमा तिम्ल्याहा सन्तानलाई जन्म दिएको अस्पतालले जनाएको छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ एकराज गौतम नेतृत्वको चिकित्सकीय टोलीले गरेको डेढ घण्टा लामो शल्यक्रियापछि ती शिशु जन्मिएका थिए ।

तिम्ल्याहा शिशुमध्ये दुई जना छोरा र एक छोरी छन् । पहिला जन्मिएको शिशुको तौल दुई किलो दुई सय ग्राम छ । दोस्रो बच्चाको तौल एक किलो ६ सय ग्राम र तेस्रो बच्चाको तौल दुई किलो रहेको छ । 

तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको, बिहिवार जन्मिएका बच्चालाई शनिवारसम्म अस्पतालमा नै राखिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ गौतमले जानकारी दिए । 

यसअघि सोही अस्पतालमा झापा धुलाबारीकी निर्मला रिजालले पनि एकै पटक दुई छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । त्यस्तै कच कवलकी एक महिला र झापा गरामनिकी एक महिलाले पनि तीन जना बच्चालाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्