आकांक्षी बढी देखिए पछि अखिल मोरङले पदाधिकारीको टुङ्गो लाउन सकेन


पदाधिकारीबिनाको ५१ सदस्यीय समिति चयन गर्दै अधिवेशन सम्पन्न

मोरङ, १७ पौष । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी मोरङको २३ औँ जिल्ला अधिवेशन पदाधिकारी छनोट नै नगरी सम्पन्न भएको छ । आकांक्षी बढी देखिए पछि शुक्रवारदेखि विराटनगरमा जारी अधिवेशन पदाधिकारी बिनाको ५१ सदस्यीय समिति घोषणा गर्दै सम्पन्न भएको हो । 

अध्यक्ष पदको आकांक्षीमा जोसेफ घिमिरे, तुलसी घिमिरे, रुपेश खड्का र मिलन घिमिरे रहेका थिए । चार÷चार जना अध्यक्षका आकांक्षी देखिए पछि आगामी बैठकले पदाधिकारी चयन गर्ने गरी अधिवेशनको अन्त्य भएको बताइएको छ । 

निर्वाचन समितिका संयोजक तथा नेकपा एमाले मोरङ मोर्चा फाँट प्रमुख सन्तोष वान्तवाले भने यही पुस २९ गते बस्ने बैठकले पदाधिकारीको चयन गर्ने बताएका छन् ।  

अधिवेशनमा अनेरास्ववियुका केन्द्रीय वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडा, अनेरास्ववियुका स्थायी कमिटी सदस्य एकराज दाहाल, अन्जु पाण्डे, मोरङ इन्चार्ज अनिल कार्की, प्रेस चौतारी मोरङका संयोजक सुदिप कोइराला, अनेरास्ववियुका केन्द्रीय सदस्यहरू सन्तोष घिमिरे, सुनिल धिमाल, नवीन निरौला, निता कुलुङ राईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्