माओवादी केन्द्रको आठौँ महाधिवेशन : आजबाट बन्द सत्र


काठमाडौँ, १२ पौष । नेकपा (माओवादी केन्द्र) को बन्द सत्र आज (सोमबार) बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । आइतबार उद्घाटन सत्र सम्पन्न गरेको माओवादीले कमलादीस्थित प्रज्ञा भवनमा बन्द सत्र गर्न लागेको हो ।


उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्द सत्रको बारेमा जानकारी दिएका थिए । बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुनेछ । विचारको महाधिवेशनको रूपमा चित्रण गरेको माओवादीको बन्द सत्रमा कूल १,६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ ।


सात भौगोलिक प्रदेश र तीन गैर भौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्द सत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ । कमलादीस्थित हलमा नै बन्द सत्र आयोजना गरिने भए पनि हलको क्षमता भन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिवार मात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिवार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो । नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्द सत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ । (नयाँ पेजबाट)

प्रतिक्रिया दिनुहोस्