छोराको जन्मदिनमा बेलबारीका एक दम्पत्तिद्वारा बालबालिकालाई न्यानो कपडा वितरण


बेलबारी, १० पौष । छोराको जन्मदिनमा बेलबारीका एक दम्पत्तिले बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । फजुल खर्च कटौती गर्दै बेलबारी –२ लालभित्तीका लक्ष्मी निरौला र इन्दिरा निरौलाले आफ्नो छोरा सरोजको जन्म दिनको अवसर पारेर १ सय बढी बालबालिकाहरूलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेका हुन् । 

आइतबार बिहान निरौला दम्पति छोरा सरोजको जन्मदिनको अवसरमा सोही स्थानमा रहेको श्री सिंहदेवी आधारभूत विद्यालयका अध्ययनरत १ सय जना जति बालबालिकालाई न्यानो टोपी र स्विटर वितरण गरेको स्थानीय जनप्रतिनिधिसमेत रहेकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिनमाया थापाले जानकारी दिएकी छिन् । 

जन्मदिनमा हुने फजुल खर्च कटाएर बालबालिकाहरूलाई सहयोग गर्न पाउँदा आफूहरूलाई पनि खुसी लागेको निरौला दम्पतिले प्रतिक्रिया दिएका छन् । न्यानो कपडा पाएर बालबालिकाहरू पनि खुसी देखिएका छन् । 

महिलाहरूको मात्र पूर्ण व्यवस्थापन भएको उक्त विद्यालयमा पछिल्लो समय सुधारका सङ्केत देखिएका छन् । न्यानो कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरेन्द्र बस्नेत, स्थानीय समाजसेवी लक्ष्मणजंग थापा, लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्