परिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्था मोरङको छैटौँ साधार सभा सम्पन्न


बेलबारी, २९ मङ्सिर । बेलबारी ७ मा रहेको परिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्थाले आज एक कार्यक्रमबिच आफ्नो छैठौँ साधारण सभा सम्पन्न गरेको छ । सङ्घीय सांसद भानुभक्त ढकालले साधारण सभाको उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री एवम् मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सांसद भानुभक्त ढकालले महिलाको नेतृत्वमा भएको यस संस्थाले छोटो समयमै उत्कृष्ट काम गरेर देखाएको बताए । प्रमुख अतिथि ढकालले अपेक्षा गरेको भन्दा राम्रो काम गरेकोमा खुसी व्यक्त गर्दै नेतृत्वको प्रशंसासमेत गरे । साथै उनले आगामी दिनमा पनि आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जायर गरे ।                         

प्रदेश सांसद राजकुमार ओझाले महिला दिदी बहिनीहरू आत्मनिर्भर हुने क्रममा रहेको बताउँदै राज्यले उनीहरूलाई सहयोग गर्नु पर्ने बताए । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले महिला दिदी बहिनीलाई उद्यमशीलतामा विकास गर्न नगरपालिका तयार रहेको बताउँदै ह्याचरी उद्योग सञ्चालनका लागि नगरपालिकाको तर्फबाट संस्थालाई रु १० लाखको सहयोग दिने प्रतिबद्धतासमेत जायर गरे । उपप्रमुख ढाका कुमारी पराजुलीले महिलाको सहभागितामा सञ्चालित यस संस्थाले महिला सशक्तीकरणमा ठूलो भूमिका निभाएको बताइन् ।

उक्त कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल, प्रतिष्ठानका सचिव डिपी राई लगायतकाले स्वागत मन्तव्य राखेका थिए ।  कार्यक्रममा संस्थाकी अध्यक्ष गङ्गा श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुनिता चौधरीले आर्थिक प्रतिवेदन तथा गोमादेवी मिश्रले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत भएका थिए ।                          

२०७२ सालमा स्थापना भएको यस सहकारीमा अहिले २ हजार १ सय २५ सेयर सदस्य रहेका छन् । यस संस्थाले हेफर इन्टरनेशनल, अभियान नेपाल, मदन भण्डारी प्रतिष्ठान, बेलबारी नगरपालिका आदिको सहयोगमा उद्यम विकास तथा महिलाको नेतृत्व विकासको काम गर्दै आएको छ । सहकारीले यसै आर्थिक वर्षमा आफ्नो छुट्टै भवनसमेत निर्माण गर्न सफल भएको छ । 

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने महिला, उत्कृष्ट महिला समूह, तथा उद्योगी सम्मानले विभिन्न महिलालाई सम्मानित गरिएको थियो । साथै सोही अवसरमा ज्येष्ठ सदस्य तथा पूर्व संचालकलाईसमेत सम्मान गरिएको थियो । 

संस्थाकी अध्यक्ष गङ्गा श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन भने सचिव उर्मिला राईको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्