एमालेले गरेको संसद् अवरोध संविधान सम्मत नभएको सभामुख सापकोटाको भनाइ


काठमाडौँ, २७ मङ्सिर । सभामुख अग्निप्रसाद सापकोटाले एमालेले विगतमा गरेको संसद् अवरोध संविधान सम्मत नभएको बताएका छन् । आज (सोमवार) नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले उक्त विचार व्यक्त गरेका हुन् । 

सभामुख सापकोटाले संसद्को प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका छन् । उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने र आवश्यकताअनुसार सर्वदलीय बैठक राख्ने पनि उनले बताएका छन् ।

भोलि मङ्गलवारदेखि संसद् अधिवेशन सुरु हुँदै छ । संसद् अधिवेशन सुरु हुन गइरहेको र आफ्नो पार्टीले कारबाही गरेका सांसदहरू उपस्थिति हुने संसद् बैठकमा एमाले सहभागी नहुने, आन्दोलन निरन्तर चल्ने बताइरहेको बेलामा सभामुखको यस्तो भनाइ आएको हो । 

प्रतिक्रिया दिनुहोस्