नेपाल एयरलाइन्सको ओसाका उडानमका आशातीत व्यापार


काठमाडौँ, १ कार्तिक ।  जापानको ओसाका उडानमा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सोचे जस्तो व्यापार गरेको छ ।

भदौ १२ गतेदेखि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले वाइड बढी ए–३३० जहाजमार्फत जापानको ओसाका कन्साइ इन्टरनेशनल एयरपोर्टमा साताको दुई दिन मङ्गलवार र शनिवार सिधा उडान भर्दै आएको छ ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले आशातीत व्यापार गर्न सफल भएको जानकारी गराउदै निगमको भइरहेको नियमित ओसाका उडानसँगै अक्टोबरबाट दुईतर्फी यात्रुको संख्या बढिरहेको बताएका छन् । प्रवक्ता चन्दका अनुसार यात्रुको संख्या प्रति उडान १५० देखि २०० सम्म हुने गरेको छ ।

नेपालमा पर्यटकीय याम सुरु भएकाले पनि जापानबाट आउने पर्यटकले गर्दा निगमलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । नेपालमा अहिले चलिरहेको गैरआवासीय सङ्घको नेपाली विश्व सम्मेलन, दसैँ, तिहार तथा छठ पर्व आदिका कारण पनि निगमको ओसाका उडानमा अकुपेन्सी बढेको देखिन्छ ।

निगमले छिट्टै जापानको राजधानी टोकियोको नारिता इन्टरनेशनल एयरपोर्टमा सिधा उडान भर्ने तयारी गरेको छ । टोकियोमा नेपालीको बसोबास बाक्लो भएकाले त्यहाँबाट निगमको व्यापार पनि राम्रो हुने अपेक्षाका साथ निगमले आवश्यक तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्