राजपरिवारका नाममा सञ्चालनमा रहेका फेसबुक तथा ट्विटर आइडी फेक भएको खुलासा


मोरङ, २४ मङ्सिर । राजपरिवारका नाममा सञ्चालित फेसबुक र ट्विटर आइडी आधिकारिक नभएको रहस्य सार्वजनिक भएको छ । निर्मल निवासले पछिल्लो राजनीतिक घटनाक्रममा पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज्ञी हिमानीको नामका आइडीबाट प्रेषित सामग्रीको विषय आधिकारिक नभएकोले त्यसको भ्रममा नपर्न बताए पछि उक्त रहस्य बाहिर आएको छ । 

पूर्वा राजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले एक विज्ञप्ति जारी गरी ती कुनै पनि सामाजिक सञ्जाल राजपरिवारले नचलाएको प्रस्ट पार्दै त्यस्ता अनधिकारिक आइडीबाट पोस्ट भएका जानकारीमा भर नपर्न आग्रह गरेका छन् ।

पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनपछि पूर्व राजा ज्ञानेन्द्र र हिमानीको नाममा सञ्चालित ट्विटर तथा फेसबुक आइडीबाट आएका स्ट्याटसले एउटा तरङ्ग नै पैदा गरिदिएको थियो । 

यिनै स्ट्याटसको विषयका आधारमा अधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भए पछि निवर्तमान अध्यक्ष कमल थापाले ज्ञानेन्द्र र हिमानीको नामबाट सञ्चालित ट्विटप्रति असन्तुष्टि जनाउँदै आफ्नो हारमा राजपरिवारको हात रहेको आरोप लाएका थिए । 

प्रतिक्रिया दिनुहोस्