२ नं प्रदेशबाहेक काँग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक


काठमाडौँ, २० मङ्सिर । नेपाली काँग्रेसको २ नं बाहेक ६ वटै प्रदेशको नतिजा सार्वजनिक भएको छ । प्रदेश–१ मा उद्धव थापा विजयी भएका छन् । प्रतिद्वन्द्वी गुरुराज घिमिरेलाई दुई मतको अन्तरले हराउँदै थापा विजयी भएका छन् ।

सभापतिमा थापाले ८४४ मत र गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरेका छन् । बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । सभापतिका अर्का उमेद्वारा नरसिंह केसीले ९२७ मत ल्याउँदा एक हजार ८५ मत ल्याएर बानियाँ विजयी भएका हुन् ।

यस्तै लुम्बिनी प्रदेशमा अमर पुन विजयी भएका छन् ।त्यस्तै सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकीमा शुक्रराज शर्मा विजयी भएका छन् ।

उता प्रदेश–२ मा भने अझैँ अधिवेशन हुन सकेको छैन । प्रदेशका केही निर्वाचन क्षेत्रको अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशन रोकिएको छ ।  प्रदेश समितिमा संस्थापन र संस्थापनइतर समूहबिच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेश गरी तीन वटा प्रदेश सभापतिमा शेरबहादुर देउवा निकट विजयी भएका छन् भने १ नं प्रदेश, गण्डकी र लुम्बिनी गरी तीन प्रदेशमा संस्थापन इतर समूहका सभापति विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्