नेपाली काँग्रेसको २ नं बाहेक ६ वटै प्रदेशमा आज निर्वाचन हुँदै


काठमाडौँ, १८ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि आज (शनिवार) निर्वाचन हुँदै छ । प्रदेश–२ बाहेकका ६ प्रदेशमा आज मतदान हुन लागेको हो । 

हिजो शुक्रवार नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले  भर्चुअल माध्यमबाट प्रदेश अधिवेशन एकैसाथ उद्घाटन गरेका थिए । नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसमा विभिन्न समूहले उमेद्वारी दर्ता गरेका छन् ।

सबै प्रदेशमा संस्थापन र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश–१ मा उद्धव थापा र गुरु घिमिरेविच भिडन्त हुँदै छ भने वाग्मती प्रदेशको सभापति पदमा सभापति इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधानको उमेद्वारी रहेको छ । गण्डकी प्रदेशमा अर्जुन जोशी र शुक्रराज शर्माबिच प्रतिस्पर्धा हुँदै छ ।

लुम्बिनी प्रदेश सभापतिका लागि सांसद भरत शाह र रोल्पा जिल्ला पूर्व सभापति अमरसिंह पुनबिच प्रतिस्पर्धा हुने भएको छ । यस्तै कर्णाली प्रदेशको सभापतिका लागि ललित जङ्ग शाही, भूपेन्द्र जङ्ग शाही र मोतीराज बम र कर्णाली प्रदेशमा सभापतिको लागि वीरबहादुर बलायर र नारायण मिस्रबिच भिडन्त हुँदै छ । 

केही जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न नहुँदा कार्यतालिका अनुसार प्रदेश नं २ मा भने अधिवेशन हुन नसकेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्