आगोलागिबाट पीडित बेलबारी ६ का भक्तको परिवारलाई राहत सामाग्री वितरण


बेलबारी, १७ मङ्सिर । आगोलागिबाट पीडित एक परिवारलाई बेलबारी नगरपालिकाले राहत सामाग्री प्रदान गरेको छ । बिहीबार बेलबारी ६ निवासी भक्त बहादुर राईको परिवारलाई नगरपालिकाले राहत सामाग्री वितरण गरेको हो । 

बुधवार घर आगोलागिको कारण राईको घर पूर्ण रूपमा क्षति भएको थियो । राईका अनुसार भन्डार गरेको धान, चामल, ४ तोला चाँदी, १ तोला सुन, रु.१५ हजार नगरत सहित अन्य घरका सबै सामाग्री जलेर नष्ट भएको छ । राई भन्छन्, “अचानक किचेनबाट आगो कसरी उछिनियो थाहा भएन । एकै पटक धुरीमा आगो पुग्दा मात्र थाहा भयो ।”

राईका अनुसार बेलुकी करिब ७ बजे आगो लागेको थियो । स्थानीयको सहयोगमा आगो निभाउन सम्भव भएको थियो । आगोमा सबै नष्ट भए पछि राई परिवारलाई अहिले ओढ्ने, ओछाउने, बस्ने तथा खाने सामाग्रीको नै अभाव भएको छ । बिहीबार बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका कुमारी पराजुलीको नेतृत्वमा वडा नं. ६ का जनप्रतिनिधिसहित पीडित परिवारको घर पुगेर राहत सामाग्री हस्तान्तरण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्