बेलबारी, १५ कार्तिक । बेलबारीमा किरात राई यायोक्खाले पहिचान, एकता र अस्तित्व सहितको सहभागिता, १२ औँ राष्ट्रिय जनगणना अभियान २०७८ सचेतना कार्यक्रम थालनी गरेको छ । किरात राई यायोक्खा बेलबारी नगर समितिले १२ औँ राष्ट्रिय जनगणनामा आफ्ना समुदायलाई सचेत तथा जानकारी गराउने अभियान अगाडी बढाएको हो ।
किरात राई यायोक्खा केन्द्रीय कार्यालयको निर्देशन अनुसार देशव्यापी रूपमा सचेतना अभियान भइरहेको मोरङ जिल्ला उपाध्यक्ष सिता राईले जनाएका छन् । उपाध्यक्ष सिता राईले समुदायको पहिचान र अस्तित्व नै संस्कृति, भाषा र धर्मले संरक्षण हुने हुँदा जनगणनामा वास्तविक विवरण लेख्न र लेखाउनु अनिवार्य भएको कारण सचेतना कार्यक्रम अत्यावश्यक रहेको बताइन । विगतमा देशको राज्य व्यवस्था, शासकको कारण पछाडि परे पनि अब एक जुट भएर राईहरूले आफ्नो पहिचान र अस्तित्व संरक्षणमा कुनै कन्जुसाई र सम्झौता नगर्न आग्रह गरेकी छिन ।
किरात राई ययोक्खाले बेलबारीको विभिन्न ठाउँमा सचेतना कार्यक्रम गर्ने अभियान रहेको नगर अध्यक्ष जितुमान राईले जनाएको छ । अध्यक्ष जितुमानका अनुसार जात, जाती, भाषा र धर्मको विषयमा राई समुदायमा एकता रहोस् र विविध कारणबाट कुनै प्रभाव नपरी कुनै अन्योलयता नहोस् भन्ने उद्देश्यले जनगणना सचेतना कार्यक्रम गरिरहेको बताएका छन् । शनिवार बेलबारी वडा नं. ३ स्थित किरात राई यायोक्खाको धार्मिक बनमा जनगणना कार्यक्रम सम्पन्न भएको छ । सोमबार बेलबारी ११ स्थित किरात राई यायोक्खाको धार्मिक बनमा पुनः गर्ने अध्यक्ष जितुमानले जनाएका छन् ।
समितिका सचिव प्रकाश राईले जनगणनामा गणकहरूले जात, जाती प्रश्न गर्दा मात्र ‘राई’ र भाषाबारे पुर्खाको भाषा र मातृभाषामा आआफ्नो राई भित्रको मात्र थरगत भाषा लेख्न र लेखाउन आग्रह गरेका छन् । प्रकाशले भने, “हामी राईहरू एक हौँ, एकता कायम अनिवार्य छ । हाम्रो जाती मात्र राई हो तर भाषामा भने खालिङले खालिङ, कुलुङले कुलुङ, चाम्लिङले चाम्लिङ, बान्तावाले बान्तवा आदि लेखौँ र लेखाऊ । राई भित्रको हाम्रो थरगत भाषा अनिवार्य लेख्नै पर्छ ।” सचिव प्रकाशले भाषाको विषयमा नै बताउँदै दोस्रो भाषाबारे यदि गणकले प्रश्न गर्छ भने नजिकको राई जातिको कुनै एक थरगत भाषा वा किरातीहरुको मध्येको कुनै एक भाषा लेख्न र लेखाउन बताएका छन् । धर्ममा भने सबै किरातीले ‘किरात’ लेख्ने र लेखाउने सचिव प्रेमले बताए ।