पथरी स्व.राजु सोदेन स्मृति कपको फाइनल प्रवेश


केराबारी, १४ कार्तिक । केराबारीमा जारी स्व. राजु सोदेन प्रथम स्मृति कप २०७८ को खेलमा फेयर फुटबल क्लब इटहरीलाई ४ गोलको फराकिलो अन्तरले हराउँदै पथरीको टेन नवोदय फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा फेयर फुटबल क्लब इटहरीलाई ० का विरुद्ध ४ गोलले हराउँदै टेन नवोदय फुटबल क्लब पथरीले फाइनलमा प्रवेश गरेको हो । 

केराबारी ८ मा रहेको प्रस्तावित रङ्गशालामा शनिवार सम्पन्न खेलमा पथरीलाई जित दिलाउन जर्सी नं. ९ का विदेशी खेलाडी हेन्ड्रीले ३ गोल र जोनले १ गोल गरे ।हेन्ड्रिले पहिलो हाफको ९ औँ मिनेटमा फ्रिकिक मार्फत प्रहार गरेको बल क्रस बारमा ठोकिएर फर्किएको बललाई सदुपयोग बललाई जाली चुमाउन सफल बनेका थिए ।

त्यसपछि पुन खेलको २८ औँ मिनटमा र दोस्रो हाफको ५३ औँ मिनटमा गोल गरी हेन्ड्रिले खेलमा ह्याट्रिक गरे । अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका जर्सी नं.२ का अर्का विदेशी खेलाडी जोनले खेलको ५३ औँ मिनटमा गोल गरे ।

विजेता टिम पथरीका खेलाडी हेन्ड्रिले खेलको म्यान अफ दि म्याच पनि घोषित भए । जित सँगै पथरीले सोमबार हुने फाइनल खेलमा झापा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने खेल मूल आयोजक समितिका प्रवक्ता अनिल ठकुरीले बताए । 

प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्