चौथो आमन्त्रण बेलबारी गोल्ड कप २०७८ को उद्घाटन खेलमा च्यासललाई हराउँदै झापा विजयी


बेलबारी, ११ कार्तिक । खेलकुदको माध्यमबाट आफ्नो स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभिप्रायका साथ बेलबारीमा सञ्चालन हुन गइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ को उद्घाटन खेलमा झापाले विजयी सुरुवात गरेको छ ।                                                   

बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा आज (बिहीवार) बाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा च्यासल क्लब काठमाडौँलाई ४ का विरुद्ध ५ गोल प्रहार गर्दै रोलिङ क्लब झापाले आफ्नो विजयी सुरुवात गरेको छ । 

खेल सुरु भएको १३ मिनेटमा च्यासल काठमाडौँका जर्सी नं १२ का खेलाडी सुसन लामाले एक गोल गरे पनि रोलिङ क्लब झापाबाट भने पहिलो हापमा कुनै पनि गोल हुन सकेन । प्रतिस्पर्धात्मक रूपमा चलेको खेलको दोस्रो हाफको अन्तिम समयमा रोलिङ क्लब झापाका जर्सी नं १५ का खेलाडी हेनरी बेलेले एक गोल लगाए पछि खेल झनै रोचक भएको थियो ।

त्यसपछि पनि दुवैतर्फका प्रयासहरू असफल भए पछि निर्धारित समयमा दुवै टिमबाट थप गोल हुन नसक्दा १–१ को बराबरीमा खेल सकिए पछि ट्राई बेकरमा खेल टुङ्ग्याइएको थियो । ट्राईबेकरमा रोलिङ क्लब धुलाबारी झापाका मार्टिन सिलो, जोन जुरु, बबिन बोहरा र पेमा तामाङले गोल गरे भने  च्यासल  यूथ क्लबका अजित गुरुङ, मनसुवा अवगना र केट्हा यानिकले गोल गर्न सफल भए भने कमल श्रेष्ठ र अर्वीन राईको बल गोल हुन सकेन ।


खेलको ३० मिनेटमा झापाका रोहन कार्कीको उत्कृष्ट प्रहार असफल भएको थियो । त्यसै गरी ४३ मिनेटमा झापाका विकास लिम्बूले प्रहार गरेको बल पोलमा ठोकिँदै बाहिरिएको थियो भने दोस्रो हाफको २० मिनेटमा च्यासलका अजित गुरुङको राम्रो प्रहार गोल हुन सकेको थिएन । खेलको म्यान अफ दि म्याच रोलिङ क्लब धुलाबारी झापाको गोल रक्षक मनोज प्रधान घोषित भए ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेको प्रतियोगितामा मोरङ, धनकुटा, उदयपुर, झापा र रोयल फुटबल क्लब सिलिगुडीका गरी विभिन्न ८ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा विजेता टिमले ५ लाख  र उपविजेताले २ लाख ५० हजार शिल्ड तथा प्रमाण पत्र पाउने छन् । प्रत्येक खेलका म्यान अफ म्याचलाई जनही ५ हजार ५ उपलब्ध गराइने पनि आयोजक समिति डाँगीहाट यूथ क्लबका अध्यक्ष विक्रम राईले बताएका छन् ।

भोलिको खेल शसस् प्रहरी बल काठमाडौँ र आमुक्त परिवार वेस्ट बङ्गालबिच हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्