नाट्यकर्मी भरत गुरागाईँ सुन्दरहरैँचामा सम्मानित हुँदै


बेलबारी, १० कार्तिक । नाट्यकर्मी भरत गुरागाईँ ‘बर्बरीक’ सुन्दरहरैँचामा सम्मानित हुने भएका छन् । नेपाली कला–साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गुरागाईँलाई सम्मान गर्न लागेको आयोजक साइकल राइडर्स ग्रुप सुन्दरहरैंचाले जनाएको छ । 

कार्तिक १२ गते सुन्दरहरैैँचामा हुने एक कार्यक्रममा गुरागाईँलाई सम्मान गरिन लागिएको सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेले बताएका छन् । 

मोरङको झोराहाटमा वि.स. २०२४ सालमा जन्मिएका गुरागाईँले हालसम्ममा ५४ वटा नाटक लेखेका छन् । र ती सबै नाटक मञ्चनसमेत भइसकेका छन् । विगत ४ दशकदेखि निरन्तर रूपमा साहित्य –कलामा साधनरत उनी नेपाली भाषा साहित्य, कला र संस्कृतिको जगेर्नामा क्रियाशील रहँदै आएका छन् । उनका ‘रात र युद्ध’ र ‘खोज्दै जीवन’ दुई वटा कविता सङ्ग्रह, ‘पर्खाल’, ‘पासवर्ड’, ‘घरभित्र अर्को घर’ र ‘देश हराएको छ’ जस्ता नाटकहरू प्रकाशित छन् । 

पछिल्लो समय नाटकका क्षेत्रमा बढी समय खर्चँदै आएका गुरागाईँले पाँच हजारभन्दा बढी पटक नाटकमा अभिनय गरिसकेका छन् । उनले नेपाल बाहेक भारत र बङ्गलादेशमानसमेत गएर नाटक मञ्चन गरेका छन् ।   

साहित्यलाई समाजको ऐना ठान्ने गुरागाईँ साहित्य समाज रूपान्तरणका लागि लेखिनु पर्छ भन्ने अभिव्यक्ति दिन्छन् । २६ वर्षसम्मको शिक्षण पेसालाई विश्राम दिएर उनी साहित्य कलाको जगेर्नामा होमिएका छन् । वि.स. २०६९ मा आफ्नै गाउँमा झोराहाट नाट्य समूह गठन गरेर कला साहित्यको जगेर्नामा उनी लागि रहेका छन् ।

झोराहाट नाट्य समूहले पछिल्लो समय १ नं प्रदेशको मा नभएर पुरै देशको ध्यान खिच्न सफल भएको छ । अर्थात् गुरागाईँले यस संस्थाका मध्यमबाट केन्द्र र मोफसलबिचको दुरीलाई घटाइदिएका छन् । अर्थात् सबै ठाउँ आफैमा केन्द्र हुन् भन्ने कुरालाई सिद्ध गरिदिएका छन् । 

नरेन्द्र चापागाईँ स्मृति प्रतिष्ठानले वितरण गर्ने युवा प्रतिभा पुरस्कार, राष्ट्रसेवक बहुमुखी सहकारीबाट वर्ष साहित्य पुरस्कार जस्ता निजी लगानीमा स्थापना भए पुरस्कारहरू पाए पनि सरकारी स्तरबाट पाउने पुरस्कारबाट भने उनी वञ्चित रहँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्