चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८को तयारी अन्तिम अवस्थामा


बेलबारी, १० कार्तिक । खेलकुदको माध्यमबाट आफ्नो स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभिप्रायका साथ बेलबारीमा सञ्चालन हुन गइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ को तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जनाएको छ ।                                             

कार्तिक ११ गते उद्घाटन हुने कार्यक्रमको लगभग ९० प्रतिशत तयारी पूरा भएको आयोजक संस्थाका सचिव शम्भु बस्नेतले जानकारी दिएका छन् । प्रतियोगिता सञ्चालनका लागि खेलमैदान, घेरा बारा, प्यारा फिट, गेट, मञ्च लगायत तयारी पुरा भएको सचिव बस्नेत बताउँछन् ।

अन्तराष्ट्रियस्तरको यस प्रतियोगितालाई सफल बनाउन आयोजकलाई उत्तिकै चुनौति रहेको छ । कोरोनाका कारणले दुई वर्षदेखि सञ्चालन गर्न नसकेको प्रतियोगितालाई जसरी पनि सफल पारेरै छाड्ने गरी आफूहरू लागिरहेको आयोजक संस्था डाँगीहाट यूथ क्लबका अध्यक्ष विक्रम राई बताउँछन् । 

उनी भन्छन् ‘थुप्रै चुनौतिका बाबाजुत पनि हामीहरू यो खेललाई सफल पार्न लागिपरेका छौँ ।’ प्रतियोगितालाई सभ्य र भव्य बनाउनका लागि आर्थिक, सल्लाहकार, खेल उपसमिति,  कार्यक्रम निर्माण, स्वयंसेवक परिचालन, घेरावारा तथा मञ्च व्यवस्थापन लगायतका उपसमितिहरूको गठन भएका छन् ।

यसरी जिम्मेवारी बाँडफाँड गरेर कामसमेत द्रुततर हिसाबले भइरहेकोले प्रतियोगिता सफल हुनेमा आफू ढुक्क रहेको खेल संयोजक भाइकुमार गुरुङ बताउँछन् । प्रतियोगिताका लागि आर्थिक अभाव नहोस् भनेर देश तथा विदेशबाट आर्थिक सङ्कलनको काम भइरहेको छ । उत्साहजनक रूपमा आर्थिक सङ्कलनको काम भइरहेको प्रतियोगिताका आर्थिक संयोजक राजेश बस्नेत बताउँछन् ।

प्रतियोगितामा एपिएफ काठमाडौँ, हिमालयन शेर्पा र च्यासल काठमाडौँ लगायतका ए डिभिजन क्लबहरूको सहभागिता रहने छ । बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा मोरङ, धनकुटा, उदयपुर, झापा र रोयल फुटबल क्लब सिलिगुडीका गरी विभिन्न ८ वटा टिमले सहभागिता जनाउने छन् ।           

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गर्ने प्रतियोगिताको फाइनल खेल भने कार्तिक १७ गते हुनेछ । प्रतियोगितामा विजेता टिमले ५ लाख  र उपविजेताले २ लाख ५० हजार शिल्ड तथा प्रमाण पत्र पाउने छन् ।

स्थानीय स्तरबाट सञ्चालित यति ठूलो राषिको पुरस्कार रहेको प्रतियोगिता यो नै पहिलो भएको र यसलाई सफल पार्नु समग्र बेलबारीकै दायित्व रहेको स्थानीयहरूको बुझाइ रहेको छ ।  प्रत्येक खेलका म्यान अफ म्याचलाई जनही ५ हजार ५ उपलब्ध गराइने पनि आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्