तारा पराजुली –
प्रभातले सप्को खोल्न नभ्याउँदै,
दुईचार धर्का मिरमिरे भुईँमा खस्न नपाउँदै,
गर्भिणी क्षितिजहरू,
चिसो घाम कोरल्छन्,
लाखिएर पल्लो भूखण्ड पुग्छन्,
अपाङ्ग शरणार्थी सपनाहरू ।
घामसँगै ओहोर दोहोर गर्ने दिनहरू,
त्यो जूनको बलेँसी,
झ्याल ढोका छलेर चियाउने हावाका झोक्काहरु,
मौसमका बहार,
पिठ्युँभरि थकाइ थाप्ने चौतारी,
फुर्सदका कल्पना,
फुलको महक,
पालममा तमूल स्वर,
खर्कको सेलो,
बेठीको सुरम्य,
उत्ताउला रत्यौलीहरू,
मारुनी हाकपारे,
बालुन् र च्याबुङ,
दसैँको मालश्री,
तिहारको सयपत्री मखमली मेला,
देउसी र भैलो,
बकर इदको अँगालो,
सबै सबै पोको पारि,
उतै लगेछौ,
फगत छाडेछौ झभल्को अल्झाइराखेरयो भूगोल भरि ।
कतिन्जेल झुक्क्याउनु निर्मल आँखाहरूलाई,
उ‘‘, त्यो मूल बाटोको हरियो मन देखाउँदै,
प्रतिक्षालयमा कुराएर ।
फेरि यो निष्ठुर कालचक्रले भेटाउँछ भेट्टाउँदैन,
मैले मेरो देश हुँदै सगरमाथाको अटाली निस्केर,
यो सन्देश पठाएको छु,
भोलि हेर्ने ऐनाहरू,
जतनले जोगाई राख्नू भनेर,
कसै गरी सुनाइदिनु एउटा प्रदेशी सम्झेर।।।