दसैँकोबिचमा सुदूरपश्चिमका किसानलाई कामको चटारो, धान काट्न भ्याइनभ्याइ


बैतडी, ३० असोज । धान भित्र्याउने समयमै दसैँ सुरु भएपछि सुदूरपश्चिमका किसान खेतबारीमै व्यस्त छन् । धान, मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि किसान खेतबारीमा नै व्यस्त हुनुपरेको स्थानीयवासीको भनाइ छ ।


वर्ष दिनमा एक पटक मात्रै आउने दसैँ मनाउन घर फर्किएकाले आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशका किसानलाई भने दसैँ लागेको अनुभूति हुन सकेको छैन ।बडादसैँको खुसी र उमङ्ग सबैतिर छाइरहँदा यति बेला यहाँका किसान खेतबारीमै देखिन्छन् । बर्खे बाली भित्र्याउन चटारो भएकाले यस प्रदेशका किसान अहिले खेतबारीमै व्यस्त देखिन्छन् । बिहान सबेरै खेतबारी तथा खरफागला पुग्ने यहाँका किसान साँझ अबेर मात्रै घर पुग्ने गर्दछन् ।

दसैँभन्दा पनि यहाँका किसानलाई बर्खे बाली भित्र्याउन तथा खर काट्नमै व्यस्त रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरीले बताए ।‘मकै र धानबाली भित्रयाइएको छ, आजभोलि भटमास, सोइटालगायत दलहन बाली भित्र्याउन लागिएको छ’, उनले भने, ‘महिला भने खर काट्नमै व्यस्त छन् ।’

कैलाली र कञ्चनपुरका किसानलाई पनि आजभोलि धान भित्र्याउनमै दिन जाने गरेको छ । दसैँभन्दा पनि उनीहरूलाई बालीनाली भित्र्याउनमै दिन जान गरेको छ । उनीहरूका लागि खेतमै दसैँ छ । लगातारको वर्षाका कारण यसअघि पाकेको धान भित्र्याउन नपाएकाले हालसम्म मौसमले साथ दिएको कञ्चनपुर वेदकोटका किसान मोहन विष्टले जानकारी दिए ।‘

मेहनत गरेर पलाएको धानबाली भित्र्याउन नपाउने भन्ने चिन्ता थियो, मौसमले आजभोलि साथ दिएको छ’, उनले भने, ‘दसैँभन्दा पनि किसानका लागि खेतमा लगाएको बाली भित्र्याउने मुख्य प्राथमिकता छ ।’

वर्ष दिनमा एक पटक आउने चाडमा रमाइलो गरी मनाउन रहर भएर पनि फुर्सद नपाउँदा खेतमै अधिकांश समय जाने गरेको किसानको भनाइ छ ।यो समय यहाँका किसान बढी व्यस्त हुने भएकाले दसैँ खासै मनाउन पाउँदैनन् । बर्खे बाली भित्र्याउने र हिउँदे बाली छर्ने समय रहेकाले यहाँका किसानलाई दशैंतिहार मनाउनभन्दा पनि खेतबारीमै बढी व्यस्त हुन्छन् ।सुदूर पहाडका महिलाहरू भने यो समय बढी जसो खरफागला काट्नमै व्यस्त हुने गरेका बैतडीका केशरी भट्टले बताए ।

उनले भने, ‘यो समय भनेको कामको चटारो हुने हो, महिला भने बिहान उज्यालो नहुँदै खरफागला पुन्ने गर्छन्, राति अबेर मात्रै घर पुग्छन् ।’

त्यसैले होला, दिनभरि काममा व्यस्त हुने किसानलाई दसैँले छोएको छैन । उनले भने, ‘खाना खाने फुर्सद समेत नहुने किसानलाई दसैँको रमाइलोबारे थाहा नै हुँदैन, दसैँभन्दा पनि काम सक्यान मै ध्यान बढी हुन्छ, त्यसमै सन्तुष्ट हुनुपर्छ ।’

तराईका किसानको मुख्य आम्दानीका स्रोतका रूपमा धानबाली रहेकाले दसैँ मनाउनेभन्दा पनि धेरै समय खेतमै हुन्छ । यो प्रदेशअन्तर्गत तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी तराईको जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।यस्तै पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धान खेती हुने गरेको छ । यो प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन हुन्छ ।  (नयाँ पेजबाट) 

प्रतिक्रिया दिनुहोस्