अनुगमनलाई कडाइ गर्दै बेलबारी नगरपालिका


बेलबारी, २२ असोज । बेलबारी नगरपालिकाले बजार अनुगमनलाई थप कडाइ गर्ने भएको छ । आज (शुक्रवार) नगरपालिकामा बसेको उपभोक्ता हित संरक्षण समिति तथा बजार अनुगमन समितिको संयुक्त बैठकमा उक्त जानकारी गराइएको हो ।

चाडबाडको आडमा अस्वाभाविक मूल्यवृद्धि, अखाद्यवस्तुको मिसावट, म्याद गुज्रिएका सामग्री बजारमा छ्यापछ्याप्ति पाइएका खबर सार्वजनिक भइरहँदा बेलबारी नगरपालिकाले भने अनुगमनमा कडाइ गर्दै उपभोक्तामैत्री बजार बनाउन लागेको बताएको छ । 

बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले चाडबाडका आडमा हुने अनियमिततालाई मध्यनजर गरेर अनुगमनलाई कडाइ गरिएको बताइन् । नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिकी संयोजकसमेत रहेकी पराजुली उपभोक्तामा सचेतताको खाँचो रहेको बताउँदै आफूहरू बजारलाई उपभोक्तामैत्री बनाउने काममा लागिरहेको बताउँछिन् ।                                  

समितिले उपभोक्ता तथा सेवाप्रदायकहरूलाई नियमित रूपमा सचेत गराउने र अनियमितता गर्नेलाई कानुनअनुसार कारबाहीसमेत गर्ने गरेको नगरस्तरीय बजार अनुगमन समितिका संयोजक महेन्द्र खड्का बताउँछन् । 

चाडबाडको आडमा विशेष गरेर खाद्य पदार्थमा अस्वाभाविक मूल्य वृद्धि, खाद्यपदार्थमा अखाद्यवस्तुको मिसावट, नापतौल जस्ता विषयमा उपभोक्ताबाट गुनासा आउने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्