काठमाडौँ, २२ असोज । ब्याडमिन्टन वर्ल्ड फेडेरेशनको कोर्स गर्न डेनमार्क प्रस्थान गर्न लागेका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापालाई ब्याडमिन्टनका टेक्निकल अफिसियलहरुले बिहिबार एक कार्यक्रमको आयोजना गर्दै सफलताको शुभकामना सहित बिदाइ गरेको छ । थापालाई नेपाल ब्याडमिन्टन सङ्घ सँग आबद्ध रहेका अन्तर्राष्ट्रिय अम्पायर तथा राष्ट्रिय रेफ्रि किरण कारञ्जित, राष्ट्रिय रेफ्रि अनुप शाक्य तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अम्पायरहरूले खादामाला लगाएर बिदाइ गरेका थिए ।
ब्याडमिन्टन एसियाका सर्टिफाईड अम्पायर थापा विश्व ब्याडमिन्टन महासङ्घले प्रदान गर्ने BWF Accreditation Course गर्नका लागि डेनमार्क प्रस्थान गर्न लागेका हुन् । थापा यो कोर्स गर्ने पहिलो नेपाली निर्णायक हुन् । विश्व ब्याडमिन्टन महासङ्घले डेनमार्कको ओडेन्समा कार्तिक २ देखि ७ सम्म आयोजना हुने भिक्टर डेनमार्क खुल्ला २०२१ का दौरान उक्त कोर्स सञ्चालन गर्न लागेको हो । थापाले कोर्षका दौरान उक्त प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गर्नेछन् ।
थापा सुकिर्ती पदकबाट समेत सम्मानित व्यक्तित्व हुन् । थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरी सकेका उनले प्रथम पटक नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता रियो ओलम्पिकमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।