सुन्दरहरैँचाकी रोजिना गिरीको बिहीवार लोहोन्द्रामा कडा सुरक्षाबिच सद्गति सम्पन्न (फोटो फिचर)


बेलबारी, २१ असोज । मृत्यु भएको १८ दिन पछि आज (बिहीवार) सुन्दरहरैँचाकी २१ वर्षीय रोजिना गिरीको अन्तेष्ठि कार्य सम्पन्न भएको छ । बिहीवार दिउसो बेलबारीस्थित लोहोन्द्रा नदीमा कडा सुरक्षाकाबिच उनको अन्तेष्ठि भएको हो । 

रोजिना सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा असोज ३ गते आइतवार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । आत्महत्या गरेको भनिए पनि रोजिनाको हत्या भएको भन्दै उनका आफन्तले सद्गति गर्न मानिरहेका थिएनन् । 

किटानी जाहेरी र माइती पक्षको निरन्तरको दबाब पछि प्रहरीले रोजीका सासू, जेठानी र जेठाजुलाई पक्राउ गरेको छ । यस विषयलाई लिएर माइती पक्ष जिल्लादेखि प्रदेशसम्म धाएका थिए । रोजिनाकी सासू, जेठाजु र जेठानीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी अभियोगमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यसरी उनीहरुविरुद्ध ज्यान कर्तव्य ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भइसकेकोले लास राखिरहनु उपयुक्त नहुने भन्दै सद्गति गरिएको रोजिनाका पिता धर्म गिरीले बताएका छन् । तर उनले आज सद्गति गरिए पनि आफूहरू छोरीको न्यायका लागि लडिरहने बताएका छन् ।

उर्लाबारी नगरपालिका वडा नं ८ दुर्गापुरी माइती भएकी रोजिनाको गत वर्ष मात्र सुन्दररहैँचाका विनोद काफ्लेसँग प्रेम विवाह भएको थियो । विनोद भने वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब एमिरेट्समा थिए ।

रोजिना असोज ३ गते आइतवार बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । सलको पासोले सिलिङ फेनमा झुण्डिएर आत्महत्या गरिएको भनिए पनि यो आत्महत्या नभएर हत्या भएको, हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाउँदै आएका छन् ।

यही आरोप आज सद्गतिका क्रममा पनि उनीहरूले लगाइरहेका थिए । लासमा आगो लगाउनुभन्दा केही समय अघि रोजिनाका माइती पक्ष र सद्गति गर्न आएका काफ्ले परिवारबिच हात हालाहालको स्थितिसमेत सिर्जना भएको थियो । सम्भावित झडपलाई मध्यनजर राखेर उनको सद्गति कडा सुरक्षाबिच उनको सद्गति गरिएको थियो । सद्गति स्थलमा प्रहरीहरूको बाक्लै उपस्थिति देखिन्थ्यो । बेलबारीका मात्र नभएर केराबारीबाटसमेत सुरक्षाकर्मी बोलाइएको देखिन्थ्यो ।

लोहोन्द्रा नदीमा पुगेका रोजिनाका आफन्तहरू काफ्ले परिवारप्रति मात्र नभएर प्रहरी प्रशासनप्रति पनि आक्रोशित देखिन्थे । प्रहरीले पीडितलाई भन्दा पीडकलाई आश्रय दिएको आरोप लगाइरहेका थिए । उनीहरूको आरोप थियो –प्रहरीले पीडितलाई भन्दा पीडकलाई आश्रय दिइरहेको छ ।’

असोज ५ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा पोस्टमार्टम गरेर रोजिनाको शव उर्लाबारीस्थित मङ्गलवारे अस्पतालमा राखिएको थियो । बिहीवार त्यहीबाट ल्याएर लोहोन्द्रा नदीमा सद्गति गरिएको थियो । 

उता मृतकका पतीले विदेशमा हुँदा पठाएका मोबाइल म्यासेजलाई हर्दा रोजिनाको मृत्युमा उनका पती विनोद काफ्लेकोसमेत संलग्नता हुन सक्ने भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएका छन् । तर आफूहरूले दिएको उजुरीलाई प्रहरीले बेवास्ता गरेको माइती पक्षको आरोप रहेको छ । 

तर प्रहरीले भने यसबारेमा अनुसन्धान भइरहेको, उनलाई समेत अनुसन्धानको दायरामा राखेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्