काभ्रे, २१ असोज । काभ्रेको नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई सम्मान गरेको छ । नगरपालिकाले स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो ।
नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले एक कार्यक्रममार्फत ती आमाहरूलाई सम्मान गरेका छन् ।
नगरपालिकाको यस कार्यक्रममार्फत सुत्केरी आमालाई छोरी जन्माएबापत वडाबाट प्रदान गरिने रु पाँच हजार, स्वास्थ्य संस्थामा सुत्केरी भएबापत रु दुई हजार, एम्बुलेन्स खर्चबापत रु एक हजार ८००, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप रु दुई हजार र चार पटक गर्भ जाँच गराएबापतको रु ८०० एकमुष्ट रूपमा प्रदान गरिएको छ ।
नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङले छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप यो कार्यक्रम सञ्चालन गरिएको बताइन् । नेपाली समाजमा छोरीलाई गर्भदेखि नै विभेद हुँदै आएको जनाउँदै त्यसलाई अन्त्य गर्ने उद्देश्यअनुसार छोरी जन्माउनेलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइएको बताइन् । साथै उनले यो कार्यक्रमले निरन्तरता पाउने पनि बताइन् ।
नगरपालिकाले गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ जना आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ ।
उक्त वडाले केही वर्षदेखि नै दाप्चा स्वास्थ्य चौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
 
          

 
                                                             
                        
                    