प्रदेश १ का मुख्यमन्त्री आचार्य भन्छन् ‘दसैँ पछि संयुक्त सरकार बनाऔँ’


विराटनगर, २१ असोज । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संयुक्त सरकार बनाउन प्रस्ताव गरेका छन् । प्रदेश १ को प्रदेशसभा भवनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो प्रस्ताव ल्याएका हुन् । 

आगामी निर्वाचनसम्म संयुक्त सरकार बनाउन सकिने उनको बिचार रहेको छ । उनले आग्रह गर्दै भने ‘आउनुहोस् संयुक्त सरकार बनाएर जाऔँ ।’ उनले यसबारेमा सबै राजनैतिक पार्टीलाई दसैँमा राम्ररी सोच्नु पनि आग्रहसमेत गरेका छन् । 

प्रदेशसभा भवनको उद्घाटनका क्रममा प्रतिपक्षी दलका नेताहरूले राजीनामा दिएर मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दसैँअघि नै विश्वासको मत लिन आग्रह गरे । 

नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीले राजनीतिक नैतिकता नदेखाएको, गणितीय र राजनीतिक हिसाबले अल्पमतमा रहेको थाहा हुँदाहुँदै मुख्यमन्त्री नियुक्त हुनु गलत रहेको उनले बताए ।

नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले राजनीतिक रूपमा अग्रज रहेका मुख्यमन्त्रीले नैतिकता देखाउन आग्रह गरेका थिए ।

उनले अल्पमतमा पर्दा पनि विश्वासको मत नलिएको भन्ने राजनैतिक पार्टीका नेताहरूप्रति लक्षित गर्दै भने, ‘२–४ दिन तलमाथि हुन सक्छ तर विश्वासको मत लिन्छौँ ।’ 

प्रतिक्रिया दिनुहोस्