महरालाई डा. भट्टराईको खुला पत्र : निष्पक्ष अनुसन्धानमा सहयोग पुराउन सुझाव


काठमाडौँ, १८ असोज । निष्पक्ष अनुसन्धानमा सहयोग पुराउन सुझाव दिँदै निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले खुला पत्र लेखेका छन् ।

डा. भट्टराईले पत्रमा महरालाई यौन दुर्व्यवहारको आरोप लागेकोमा सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत् पनि तरङ्गित भएको र आफू मर्माहत भएको उल्लेख गरेका छन् । उनले माओवादी आन्दोलनबाट लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र परिकल्पना गरेको महिला मुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएर लेखेको पत्रमा उल्लेख गरेको छ ।

डा. भट्टराईले पत्रमा लेखेका छन्, ‘यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्विकार्नु र प्रायश्चित गर्नु नै तपाईँ स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ । भनिन्छ, ’ गल्ती गर्नु अपराध हैन, गल्ती नसच्याउनु अपराध हो ।’

महरालाई डा. बाबुराम भट्टराईले लेखेको चिठी

प्रिय महराजी,

हालैको तपाईँ सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तराष्ट्रिय जगत् पनि तरङ्गित त छँदै छ म व्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु । यो तपाईँको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिला मुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु ।

१. माओवादी नेतृत्व तहमा हामी (विशेषतः प्रचण्ड र म) सुरेश वाग्ले र तपाईँलाई उच्च नैतिकवान् र इमानदार पात्र मान्थ्यौँ । हामी बिच विवाद पर्दा तपाईँ दुई जनाको कुरालाई हामीले विशेष महत्त्व दिन्थ्यौँ । प्रचण्ड र मेरो बिचमा २०५५/५६ मा पहिलो ठुलो वैचारिक, साङ्गठनिक बहस हुँदा २०५६ साउन भदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईँ दुई जनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौँ । (दुर्भाग्यवस त्यो बैठक सकेर फर्कनेवित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो ।)

पछि पोष्टबहादुर बोगटी र तपाईँ पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो । २०७१ सालमा बोगटीजीको दुःखद निधन र पार्टीको क्रमशः ओरालो लाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्णा बढाउँदै लग्यो । काँग्रेस, एमाले पहिले नै भ्रष्टाचार र सुरासुन्दरी काण्डले बदनाम भैसकेका थिए । तपाईँको यो पछिल्लो प्रकरण त्यसैले तपाईँको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक, राजनीतिक र नैतिक सङ्कटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ । यसलाई तपाईँ हामी सबैले स्वीकार्नैपर्छ ।

२. माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्यो ? त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौँला । हामीले नेपाली क्रान्तिलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्‍याएकै हो । यसमा हामीले सामूहिक गर्व गर्नुपर्छ । तर रोजा लक्जेम्बर्गले भने झैँ क्रान्ति स्थिर भएर बस्दैन, कति त्यो अघि बढाइनुरबढ्नु पर्छ, नत्र त्यो पछाडि हट्छ ।

त्यस्तै अर्को भनाइ छ, ‘शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ ।’ अझै अर्को भनाइ छ , ‘क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रन्तिक्रान्तिकारीमा बदलिन्छन् ।’

यहीँनेर हामी चुक्यौँ । मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौँ भनेको थिएँ । तर मैले साथीहरूलाई मनाउन सकिनँ । साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन । त्यसैले अब क्रमशः साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ । तपाईँ (महराजी) को पछिल्लो प्रकरण त्यसैको एउटा नमुना हो ।

३. यो प्रकरणमा तपाईँ दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ । सत्य कि तपाईँलाई थाहा छ, कि सम्बन्धित महिलालाई थाहा छ । तर अहिलेसम्म बाहिर आएका कुराबाट शङ्काको सुई तपाईँतिर सोझिन्छ । हामीले एसएलसीमा पुष्कर शमशेरको ‘परिबन्द’ कथा पढ्थ्यौँ । त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ ।
यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेबारे स्कुलमा पढ्दा गुरुले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छु,

‘विश्वामित्र पराशर प्रभृत्तयो वाताम्बु पर्णाशना ।

तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता ।।

साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबास् ।

तस्याम् इन्द्रिय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम् ।।’

तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन । अझै गम्भीर कुरा त महिलालाई उपभोग्य वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको बलमा महिलाको अस्मिता हरण र यौन शोषण गर्नु कानुनी दृष्टिले समेत दण्डनीय हुन्छ ।

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीडित हुने भए पनि कहिलेकाहीँ पुरुष पनि उत्पीडन वा प्रतिशोधरषडयन्त्रको जालमा पर्न सक्छ । तपाईँको हकमा पनि अन्यथा भएको हुनसक्छ । त्यसनिम्ति पनि तपाईँले सत्य तथ्य बाहिर ल्याएर कानुन बमोजिम न्यायको निरूपण गर्न र आफूलाई निर्दोष साबित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ । त्यसले तपाईँको प्रतिष्ठा घटाउने हैन बढाउनेछ ।

यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्विकार्नु र प्रायश्चित गर्नु नै तपाईँ स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ । भनिन्छ, ‘ गल्ती गर्नु अपराध हैन, गल्ती नसच्याउनु अपराध हो ।’

तपाईँको शुभेच्छुक,
बाबुराम

प्रतिक्रिया दिनुहोस्