पविन र सुरोजको जोडीलाई उपाधि


काठमाडौँ, १७ असोज । आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी पुरुष युगल तर्फ बालकुमारी रिमिक्स क्लब सातौँ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधि जित्न सफल भएका छन् । उक्त जोडीले आफ्नै क्लबका सशिन डङ्गोल र सुविन महर्जनको जोडीलाई पराजित गर्दै उपाधि उचालेका हुन् ।

पविन र सुरोजको जोडीले डङ्गोल र महर्जनको जोडीमाथि २१–१४, २१–१६ को जित निकालेका हुन् । सो स्पर्धामा आयोजकका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडी तथा ११ स्टारका राजु बज्राचार्य र आकाश छन्त्यालको जोडी तेस्रो भए । विजयी खेलाडीहरूले नगद ६५ हजार, उपबिजयीले नगद ४० हजार र तेस्रो हुने टोलीले नगद २०-२० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । 

ललितपुर बालकुमारीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको भेट्रान्स् ४५ वर्ष माथिको प्रतिस्पर्धामा फ्रेन्डसिप ब्याडमिन्टन क्लबका शम्भु महर्जन र राजकुमार राजकर्णिकारको जोडीले बाजी मा¥यो । उक्त जोडीले सनराईज ब्याडमिन्टन क्लबका दीपक राना र टिका थापाको जोडीलाई १३–२१, २१–१६, २१–१४ ले पराजित गर्दै जितलाई आफ्नो नाममा लेखाए । श्रीकृष्ण ब्याडमिन्टन क्लबका सुरेश बस्नेत र सिताराम श्रेष्ठको जोडी तथा इमाडोल ब्याडमिन्टन स्पोर्टस्का तीलक बुढाथोकी र दिल बहादुर कदङ्गवाको जोडीले तेस्रो स्थानमा चित्त बुझाए ।विजयी टिमले नगद ३० हजार, उपबिजयी टिमले नगद २० हजार र तृतीय टिम प्रत्येकले नगद १०-१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्