दसैँ विशेष सुरक्षा योजना : उपत्यकामा ८ हजार प्रहरी परिचालन, जुवा तास र मापसेमा निगरानी


काठमाडौँ, १४ असोज । काठमाडौँ उपत्यकामा चाडपर्व विशेष सुरक्षा योजना लागू भएको छ । १० असोजदेखि लागू भएको सुरक्षा योजनामा यसपालि सुरक्षा निकायले जुवा तास र मादक पदार्थ सेवनलाई विशेष प्राथमिकता दिएको छ ।

महानगरी प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले काठमाडौँ, भक्तपुर र ललितपुरमा चाडपर्व विशेष सुरक्षा योजना लागू भइसकेको जनाएको छ । मेट्रोका प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले विशेष सुरक्षा योजनाअन्तर्गत मातहत निकाय परिचालित भइसकेको बताए । उनका अनुसार परिसरहरूले मेट्रोको निर्देशनअनुसार सुरक्षा योजना बनाएर लागू गरेका हुन् ।

उपत्यकामा चाडपर्व केन्द्रीत सुरक्षाका लागि सादा, बर्दिधारी र ट्राफिक गरेर झण्डै ८ हजार सुरक्षाकर्मी परिचालन गरिएको डिआइजी सुवेदीले जानकारी दिए ।

जुवा तास र मापसे प्राथमिकतामा

यसपालि दसैँ तिहारमा प्रहरीले जुवा तास र मादक पदार्थ सेवक रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको छ । साथसाथै सर्वसाधारण ठगिन नदिन पनि निगरानी बढाएको छ । यसमा ठूलो जनशक्ति खटाइएको छ ।

चाडपर्वको बेला आर्थिक कारोबार धेरै हुन्छ । बैङ्क वित्तीय संस्था, ठूल्ठूलो मलहरू, सुनचाँदी पसल, दशैंतिहार लक्षित विभिन्न लक्षित सवारीहरू, फर्निचर लगायत अन्य उपभोग्य सामग्रीहरू पनि छुटका अफरहरू प्रशस्त मात्रामा हुन्छ ।

आपराधिक मानसिकता बोकेका मानिसले लुटपाट र ठगी गर्न सक्ने हुनाले सूचना सङ्कलन सादा पोसाकमा प्रशस्त प्रहरी खटाउने र त्यस्ता भिडभाड हुने ठाउँमा बर्दिधारी प्रहरी पनि राखेर रोकथाम गर्ने व्यवस्था मिलाइएको सुवेदी बताउँछन् । उनका अनुसार समुदाय प्रहरी साझेदारीअन्तर्गत स्थानीय सरकार, समुदाय, क्लबसँग मिलेर सचेतनातर्फ पनि जोड दिइएको छ ।

फेस्टी मुडमा मादक पदार्थ सेवक गर्ने, जुवा तास खेल्ने गरिन्छ । मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने अथवा झैझगडा हुनसक्ने भएको हुनाले विशेष सुरक्षाअन्तर्गत यस्ता घटना हुन नदिन ट्राफिक चेक प्वाइन्ट अरू समयभन्दा बढाउने, मापसे चेकिङ गरेर निरुत्साहित गर्ने व्यवस्था मिलाइएको छ । अर्कोतर्फ झैझगडा नहोस् भनेर व्यापक गस्ती र पट्रोलिङ गर्ने व्यवस्था मिलाइएको छ ।

‘जुवा तास पनि आर्थिक अपराध हो नै,यसले आपराधिक घटना पनि निम्त्याउँछ । जुवामा हारेको वा जितेको सुरमा मान्छेहरूबिच विवाद, झैझगडा हुने र कतिपय अवस्थामा मान्छेको ज्यान नै जोखिम पर्ने गरेको छ,’ डिआइजी सुवेदी भन्छन्, ‘यसलाई रोक्न पहिलो त सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । अर्कोतिर जुवा खेलिरहेका छन् भन्ने सूचना सङ्कलनका लागि कहाँ खेल्दै छन्, को को खेल्दै छन् भनेर सादा पोसाक परिचालन र त्यस्तो ठाउँमा रेड गरेर कानुनको दायरामा ल्याउने गरिएको छ । त्यसको लागि पनि व्यापक रूपमा प्रहरी परिचालन गरेका छौँ ।’

चाडपर्व नजिकिँदै गर्दा काठमाडौँमा बसोबास गर्ने ठूलो जनसङ्ख्या उपत्यका बाहिर जान्छ । विशेष सुरक्षा योजनाअन्तर्गत यात्रु ठगिनबाट जोगाउन विभिन्न ठाउँमा ट्राफिक र जनपदसहित हेल्प डेस्क राखिएको छ । जसले यात्रुलाई सचेत गराउँछ । साथै टिकट बुकिङ हुने ठाउँमा हुनसक्ने अनियमितता रोक्न सादा पोसाकको प्रहरी परिचालन र लाइन व्यवस्थित गर्न बर्दिधारी प्रहरी पनि खटाइएको छ ।

ठाउँ ठाउँ छड्के जाँचको व्यवस्था गरिएको छ । छतमा यात्रु राख्न नदिन, मापसे गरेर भाडाका सवारी नचलाउन भनेर हाइवेमा, उपत्यका बाहिरिने नाकाहरू थानकोट, फर्पिङ, साँगालगायतमा चेक प्वाइन्टको व्यवस्था मिलाइएको छ । ‘एकातिर बुकिङदेखि नै नठगियोस् र अर्कोतिर सुरक्षित यात्रा होस् भनेर मिलाएका छौँ,’ सुवेदी भन्छन् ।

त्यसै गरी सुरक्षा निकायले घर डेरा छाडेर हजारौँ मानिस काठमाडौँ बाहिर जाने भएकाले त्यो क्षेत्रमा लुटपाट नहोस् भनेर सुरक्षा व्यवस्था मिलाएको छ । चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानदेखि खेलकुद प्रतियोगिता, मठमन्दिर मेलासम्म विभिन्न कार्यक्रमहरू हुने गरेका छन् । कोभिड प्रोटोकल पालना गरेर गर्न प्रहरीको अनुरोध गरेको छ ।

भक्तजनको सुरक्षाका लागि पनि बिहान सबेरैदेखि सादा र बर्दिधारी प्रहरी परिचालन पनि गरेको छ । चोरी लुटपाटको घटनामा सचेत हुन र त्यस्तो आशङ्का लागेमा सूचना दिन पनि प्रहरीले आह्वान गरेको छ । सूचना पाए लगत्तै तत्काल रेस्पोन्स गर्न क्युआरटीहरु, रिजर्भ टोलीहरुस्टाण्डबाई राखिएको छ ।

‘अरू सबै क्रमशः छुट्टिमा गए पनि प्रहरी अनड्युटी बस्छ । प्रहरीले सर्वसाधारणलाई सुरक्षित राख्न सक्यो र चाडपर्व मनाउन सक्ने राम्रो वातावरण सिर्जना गर्न सक्ने भयो भने नै आफूले चाडपर्व मनाए जस्तो महसुस हुन्छ,’ उपत्यका सुरक्षा हेर्ने डिआइजी सुवेदी भन्छन् । (नयाँ पेजबाट) 

प्रतिक्रिया दिनुहोस्