नेपाली काँग्रेस बेलबारी नगर सभापतिमा कस्ले बाजी मार्ला ?


बेलबारी, १३ असोज । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकै आइरहँदा पुरै देश राजनीतिले तातेको छ । केही स्थानमा सर्वसम्मत नेतृत्व चयन गरेर सहमति, सहकार्य र एकताको नारालाई चरितार्थ पारे पनि अधिकांश स्थानमा भने काँग्रेसले आफ्नो नारालाई चरितार्थ पार्न सकेको देखिँदैन । 

धेरै स्थानमा पार्टिभित्रैका विभिन्न समूहबाट प्रतिस्पर्धा देखिएको छ । केही ठाउँमा त मत बराबरीसमेत भएको पाइएको छ । प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष भए पनि गुटगत प्रतिस्पर्धाका कारणले भने राम्रो मानिस पाखा लाग्ने सम्भावना बढी हुने गर्दछ । 

यसै क्रममा बेलबारीमा नेपाली काँग्रेसको अधिवेशनका कारण राजनैतिक माहौल झनै तातिएको छ । मोरङ लगायत विभिन्न जिल्लाका पालिका स्तरको निर्वाचन असोज १६ मा हुँदैछ । १६ गते हुने नगर सभापति र अन्य पदका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । 

बेलबारीमा नगर सभापतिका लागि तीन जना आकाङ्क्षी देखिएका छन् । सभापतिमा आकाङ्क्षी देखिनेमा हालका नगर सभापति रहेका शम्भु भट्टराई, तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्ष छत्र लिम्बु र नेपाली काँग्रेस बेलबारीका नगर सचिव राजेश खत्री रहेका छन् ।

तीन जना चुनावी मैदानमा देखिए पनि तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्ष छत्र लिम्बू र हालका नगर सभापति शम्भु भट्टराईबिच नै कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । सभापतिका आकाङ्क्षी लिम्बु कोइराला पक्ष र भट्टराई देउवा पक्षका उम्मेदवार मानिन्छन् । सबैले आ–आफ्नो जीत सुनिश्चित रहेको बताइरहँदा सबैको साझा उम्मेदवारका रूपमा रहेका, आफ्नो कार्यकालमा सबैलाई मिलाएर अघि बढेका कारणले हालका सभापति भट्टराईको जित्ने सम्भावना बढी रहेको बताइए पनि लिम्बू भने युवामाझ लोकप्रिय नेता मानिन्छन् । 

यसअघि सम्पन्न वडाको निर्वाचनको परिणामले पनि कोइराला पक्ष मानिने लिम्बूको पल्ला भारी देखिएको छ । तर सभापतिका अर्का आकाङ्क्षी खत्री र लिम्बू एकै समूहका भएका कारणले पनि मत बाँडिने सम्भावना पनि त्यतिकै रहेको देखिन्छ । खत्रीले आफूलाई स्वतन्त्र उमेद्वार भने पनि उनी कोइराला पक्षीय नेता मानिन्छन् । त्यसो त उनले लिम्बूलाई सघाउने सम्भावना पनि रहेको बताइन्छ । यदि यसो भएमा भने लिम्बूको जित सुनिश्चित देखिन्छ । तर कोइराला पक्षीय उमेद्वारबिच नै मत बाँडिएमा भने लिम्बूको जित्ने सम्भावना घटेर जाने तथ्याङ्कले देखाउँदछ ।

बेलबारीमा नगरका लागि २ सय ३० जना मतदाता रहेको छ । उता नगर उपसभापतिमा नितु थापा र उपेन्द्र सुवेदीको नाम चर्चामा रहेको छ । सचिवमा कुलप्रसाद बराल, सन्तोष भट्टराई, जनक पोख्रेल र ज्ञानुराज राई आकाङ्क्षी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्