परराष्ट्रमन्त्री खड्काको शपथ बदर माग गर्दै सर्वोच्चमा रिट दायर


काठमाडौँ, १३, असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनीयताको शपथ कानुनसम्मत नभएको भन्दै बदर गर्न माग गर्दै मङ्गलवार सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिट अधिवक्ता विशाल न्यौपानेले दायर गरेका हुन् । 

कानुन नै नभएको अवस्थामा निष्क्रिय कानुनमा टेकेर गराएको शपथ अवैधानिक भएको भन्दै शपथ बदर गर्न माग गर्दै रिटमा माग गरिएको छ । 

अधिवक्ता न्यौपानेले दायर गरेको रिटमा नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भए पनि कानुन नै नबनाई गरिएको परराष्ट्रमन्त्री खड्काको पद तथा गोपनीयताको शपथ कानुन सम्मत नभएको दाबी गरेका छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट ‘शपथसम्बन्धी अध्यादेश, २०७८’ जारी भइसकेको छ । पुरानो कानुन निष्क्रिय भइसकेको र नयाँ कानुन नबनाई पुरानै कानुन अनुसार गरिएको परराष्ट्रमन्त्री खड्काको शपथ अवैधानिक भएको दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्