अनुलाई प्रिमियर लिगमा प्रतिस्पर्धाका लागि बिदाइ


काठमाडौँ, १२ असोज । मित्र राष्ट्र रसियाको मस्को सहरमा आयोजना हुने ¥याङ्किङ्ग प्रतियोगिता समेत रहेको कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जान लागेकी साग स्वर्णधारी अनु अधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले सोमबार एक कार्यक्रमबिच राष्ट्रिय झण्डा सहित खादा लगाएर बिदाइ गरे ।

सो क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको पनि खेलाडी अनुलाई बिदाइ गरेका थिए । खेलाडीलाई शुभकामना दिँदै सदस्य सचिव सिलवालले यस प्रतियोगिताले नेपाली खेलाडीहरूको स्तर मापन गर्ने र नेपाललाई विश्व खेल मञ्चमा परिचय गराउने भन्दै स्तरीय खेल प्रदर्शन गर्न र प्रतियोगिताबाट नयाँ खेल कौशलता सिकेर आउन सुझाव दिए ।

विश्वका विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीहरूको सहभागिता रहने र्याकिंग प्रतियोगितामा अनुले ५५ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् ।

प्रत्येक तौल समूहमा विश्वका ६४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रशिक्षक दीपक श्रेष्ठले बताए । खेलाडी अनुको हाल विश्व कराते र्याकिंगमा १६३ औँ स्थान रहेको छ । यस लिगमा उच्च १० स्थान हासिल गर्ने खेलाडीहरू ओलम्पिकका लागि स्वतः छनौट हुने खेलाडी अनुले जानकारी गराइन् । यो लिग आउँदो ओलम्पिकका लागि सुरुवाती चरण भएको समेत अधिकारीले बताइन् ।

प्रत्येक तौल समूहमा विश्वका ६४ जना मात्र खेलाडीहरूले सहभागिता जनाउन पाउने यस विश्व र्याकिंग प्रतियोगितामा सहभागिता हुनका लागि कराते महासङ्घले आयोजना गर्ने विभिन्न सिरिज प्रतियोगिताहरूमा सहभागिता र जितका आधारमा र्याकिंगका लागि प्राप्त अंकका आधारमा उच्च ५० भित्र परेका खेलाडीहरूले स्वतः छनोट चरण पार गर्नेछन् र बाँकी १४ जना २०० र्याकिंग भित्र परेका खेलाडीहरूले लिगका लागि दर्ता खुलेको अवस्थामा फस्ट कम फर्स्टका आधारमा जति सक्दो चाँडो नाम दर्ता गर्न सकेमा मात्र सहभागिता जनाउन पाउने प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए । अरुबेला १५० भित्रका खेलाडीहरूले मात्र सहभागिताका लागि नाम दर्ता गर्न पाउने भएता पनि यस पटक कोभिडका कारण सिरिजहरू नभएका कारण २०० भित्रका खेलाडीहरूले नाम दर्ता गर्न पाउने प्रावधान कराते महासङ्घले गरेकाले अनु यस लिगका लागि छनोट हुन सफल भएको समेत प्रशिक्षक श्रेष्ठले जानकारी गराए ।

अक्टोबर १ देखि ३ सम्म आयोजना हुने लिग प्रतियोगिताका लागि अनु एक्लै आजै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्