व्यवसायी माथि खुकुरी प्रहार गर्ने युवक पक्राउ


विराटनगर, १२ असोज । विराटनगरस्थित उच्च अदालतको गेटमा व्यापारीलाई खुकुरी प्रहार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ६ घर भएका २५ वर्षीय विमल कार्की रहेको प्रहरीले बताएको छ । उनले काभ्रे घर भई भक्तपुरको सूर्य विनायक नगरपालिका ८ मा बस्दै आएका ३२ वर्षीय कमानसिंह लामामाथि आइतबार खुकुरी हानेर एक जना फरार भएका थिए ।

प्रहरीले कोसी अस्पतालको गल्लीबाट नियन्त्रणमा उनलाई लिएको थियो । उनी खुकुरी प्रहार गरेर कोसी अस्पतालतिर भागेको मोरङ प्रहरीले बताएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले खुकुरी प्रहारबाट लामाको हात, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेका लामालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । 

अदालतमा प्रवेश गर्दै गर्दा गेटमा कार्कीले लामालाई खुकुरी प्रहार गरेका थिए । लामा मोरङको कटहरी गाउँपालिका– ६ मा रहेको मोरङ राजधानी इँटा उद्योगका लगानीकर्ता भएको र इँटा उद्योगको विषयलाई लिएर पछिल्लो समय उत्पन्न विवादले घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्