महराले ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खुलासा


काठमाडौँ, १५ असोज । कृष्ण बहादुर महराले हिजो मङ्गलवार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्र उपसभामुख शिबमाया तुम्वाहाङ्फेद्वारा अस्वीकृत भए पछि ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खुलासा भएको छ ।

यौन दुर्व्यवहारको आरोप लागेको कारण महराले सभामुख पदबाट राजीनामा दिएका थिए । तर उक्त पत्रमा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने उल्लेख भएको कारण उपसभामुख तुम्वाहाङ्फेले अस्वीकृत गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उच्च स्रोतबाट बुझिएको खबर बाहिरिएको छ ।

महराले मङ्गलवार बुझाएको राजीनामा पत्र आफूले स्वीकार नगरी दराजमा थन्क्याएर राख्ने उपसभामुख तुम्वाहाङ्फेको चेतावनी थियो । सोही कारण महराले शर्तरहित अर्को राजीनामा पत्र बुझाएको स्रोतको दाबी छ ।

बुधवार उपसभामुख तुम्वाहाङ्फेले अर्को राजीनामा पत्रका आधारमा महराको राजीनामा आएको सूचना संसद् सचिवालयमा टाँस्न लगाएकी थिइन् । महरा सभामुख नरहने र संसद् सचिवालयले उपयुक्त समयमा नयाँ सभामुख चयनको प्रक्रिया सुरु गर्ने नेकपा स्रोतका अनुसार खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्