अमेरिकामा हुने भनिएको सार्क बैठक स्थगन


काठमाडौँ, ७ असोज । अमेरिकाको गर्ने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को परराष्ट्र मन्त्रीस्तरीय अनौपचारिक बैठक रद्द गरिएको छ । संयुक्त राष्ट्रसङ्घ (यूएन) को ७६औँ महासभाका क्रममा बस्ने भनिएको बैठक तालिबानको उपस्थितिको आशङ्कामा रद्ध गरिएको बताइएको छ । 

अफगानिस्तान सार्कको सदस्य मुलुक हो । बुधवार मात्र तालिबानले राष्ट्र सङ्घका लागि अफगानिस्तानका तर्फबाट सुहेल शाहिनलाई नयाँ राजदूतका रूपमा पठाउँदै आफ्ना राजदुतले महासभामा बोल्न पाउनुपर्ने भन्दै पत्राचार गरेको थियो । सार्क सचिवालयले भने सदस्य मुलुकबिच सहमति नजुटेकाले बैठक रद्द गर्नु परेको बताए पनि सहमति जुट्न नसकेको विषयका बारेमा भने केही खुलाइएको छैन ।

हाल सार्कको अध्यक्ष राष्ट्र नेपाल हो । नेपालले यही असोज ९ गते मन्त्रीस्तरीय बैठक राख्ने प्रस्ताव गर्दै अफगानिस्तानबाहेक सार्कका अन्य सदस्य राष्ट्रलाई निमन्त्रणा गरेको थियो ।

तर अफगानिस्तानले प्रतिनिधि पठाउने भए पछि सार्क सम्मेलन अन्योलमा परेको छ । अफगानिस्तानमा तालिबानको सरकार बनेकामा सार्टराष्ट्रका सदस्यहरू सन्तुष्ट छैनन् । सार्क सदस्य राष्ट्रले बैठकमा न्युयोर्कस्थित तालिबान कूटनीतिक प्रतिनिधि विनानिम्तो आए भने के गर्ने भनेर नेपालसँग सोधिएको थियो तर नेपालले अर्काको भूभागमा रोक्न सकिन्न भन्ने जवाफ दिएको बताइएको छ । बैठक न्युयोर्कको एक होटेलमा गर्ने भनिएको थियो । 

प्रतिक्रिया दिनुहोस्