भारतलाई बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप उपाधि (फोटो फिचर)


बेलबारी , १४ असोज / तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब भारतले चुमेको छ । बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मङ्गलवार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै भारतको रोयलले उपाधि हात पारेको हो ।

विजेता रोयलले पाँच लाख रुपैयाँ र उपविजेता धरानले दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । सेमिफाइनलमा धरानले मदन भण्डारी स्र्पोट्स एकेडेमीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने रोयलले एपीएफलाई पराजित गरेर फाइनल पुगेको हो ।

 

रोयलले खेलको १० मिनेटमै गोलको खाता खोलेर अग्रता लिएको थियो । सिलिगुडीका निरज बस्नेतको थ्रो बललाई धरानका खेलाडीले क्लियर गर्न नसक्दा कप्तान आदर्श तामाङले पोस्टको दिशा दिएका थिए । पहिलो हाफ १–० को अवस्थामा सकियो । ५७ औँ मिनेटमा रोयलले अग्रता दोब्बर बनायो । रक्षापंक्तीका मनोज राईलाई छक्क्याउँदै गोलरक्षक लक्की कार्कीलाई बिट गरेर सिलिगुडीका निशान लिम्बूले गरेको प्रहारले पोस्टको बाटो तय गर्दा खेल २–० को अवस्थामा पुग्यो ।

सिलिगुडीका अमन थापाले ६९ औँ मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै अग्रता फराकिलो पारे । कप्तान आदर्श तामाङको पासमा एक्लै अघि बढेका थापाको प्रहारले जाली चुम्दा खेल ३–० को अवस्थामा पुग्यो । सत्यम शर्माले ७१ औँ मिनेटमा गोल थप्दै सिलिगुडीलाई फराकिलो अन्तरको जित दिलाए । कैलाश बस्नेतका ठाउँमा ६९ मिनेटमा मैदान छिरेका उनले त्यसको २ मिनेट पनि बित्न नपाउँदै वान भर्सेस वानको स्थितिलाई सदुपयोग गरेर सिलिगुडीका लागि चौथो गोल गरेका हुन् ।

उमेश राईले ७४ औँ मिनेटमा वान भर्सेस वानको स्थितिमा सिलिगुडीका गोलरक्षक किशोर गिरीलाई बिट गर्दै धरानका लागि सान्त्वना गोल फर्काए । ६० औँ मिनेटमा विशाल राईका ठाउँमा मैदान गएका उनले गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । फाइनल खेलको म्यान अफ दी म्याच धरानका मनोज राई घोषित भए । उनले पाँच हजार नगद पुरस्कार पाए ।

 

डाँगीहाट युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिलिगुडीबाट खेलेका निशान लिम्बू घोषित भए । उनले २५ हजार नगद पुरस्कार पाए । सर्वाधिक गोल कर्ता बनेका उनले प्रतियोगिता भर ३ गोल गरेका छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्स भारतका निरज बस्नेत, मिड फल्डर आदर्श तामाङ, स्ट्राइकर श्याम सरकार, गोलरक्षक किशोर गिरी र उत्कृष्ट प्रशिक्षक भारतका कमल सुब्बा बने । उनीहरूले जनही सात हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको उदीयमान खेलाडी आयोजक डाँगीहाट युथ क्लबका शङ्कर राई घोषित भए । विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सरकारका कानुन मन्त्री भानुभक्त ढकाल लगायतले पुरस्कार वितरण गरे । गत असोज ४ गतेबाट सुरु प्रतियोगितामा नेपाल र भारतका गरेर आठ वटा टिमको सहभागिता रहेको थियो ।

 

https://youtu.be/FCHK2Ia0eSY

प्रतिक्रिया दिनुहोस्