इटहरी उपमहानगरपालिकाद्वारा २० जना महिलालाई सिलाई मेसिन प्रदान


इटहरी, २ असोज । महिलालाई व्यावसायिक बनाउने अभिप्रायले इटहरी उपमहानगरपालिकाले महिलालाई सिलाइ मेसिन प्रदान गरेको छ । उपमहानगर पालिका र उपमेयर आत्मनिर्भर कार्यक्रममार्फत सिप विकास गरी रोजगारी अभिवृद्धि गर्ने अभिप्रायले २० जना महिलालाई सिलाई मिसिन वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले महिलाहरूलाई सिलाइ मेसिन हस्तान्तरण गरिन् । यस कार्यक्रममार्फत इटहरी उपमहानगर–५ बाट १३ र उपमेयर आत्मनिर्भर कार्यक्रमका ७ वटा गरी २० वटा सिलाइ मेसिन वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

सिलाइ मेसिन हस्तान्तरण गर्दै उपप्रमुख गौतमले महिलालाई सिप अभिवृद्धि गरेर गरिखाने बनाउने लक्ष्य राखिएको बताइन् । उनले सिकेको सिप प्रयोग गरेर ६ महिनामा रोजगार बन्न आग्रह गरिन् ।

संवृद्धि हेल्भेटास परियोजना अन्तर्गत महिलाहरूलाई ६५ दिने टेलरिङ तालिम दिइएको थियो । तालिम हेल्भेटासको प्राविधिक सहयोगमा मल्टि स्किल एन्ड इन्भारोमेन्ट प्रालिले इटहरीमा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्