शुक्रवारदेखि त्रिविका सबै कलेजमा भौतिक उपस्थितिमै पढाइ सुरु हुँदै


काठमाडौँ, १ असोज । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कलेजमा शुक्रवारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द रहेका कलेज आजदेखि भौतिक उपस्थितिमै सञ्चालन हुन लागेका हुन् ।

त्रिवि कार्यकारी परिषद्को २७ भदौमा बसेको बैठकले स्वास्थ्य मापदण्ड पुरा गरेर विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार शुक्रवारदेखि भौतिक रूपमै कक्षा सञ्चालन हुने तर त्यसका लागि सम्बन्धित स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहेर कलेज सञ्चालन हुने प्रावधान राखेको छ । 

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सतर्कता अपनाएर विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्