बेलबारी, २९ भाद्र । बेलबारी नगरपालिका वडा नं –३, कृषि टोलका गोविन्द पाँचकोटीको पुरै समय आफ्नो कृषि फममै बित्ने गर्छ । उनी बिहान सबेरै उठ्छन् र घर नजिकै रहेको बङ्गुर फाममा पुग्छन् । खोरको सरसफाइ गरेर बङ्गुरलाई चारो दिँदा झण्डै १० बजिसकेको हुन्छ । उनी दिनभरि पनि यही काममै खटिइरहेका हुन्छन् । उनको पुरै समय यही फममै बित्ने गर्छ भन्दा पनि अत्युक्ति नहोला ।
३५ वर्षीय गोविन्दले यही पेसामा आफ्नो भविष्य देखेका छन् । उनी भन्छन् –भविष्य कस्तो बनाउने भन्ने आफ्नै हातमा हुन्छ । कृषिमा जतिको भविष्य सुनिश्चित अरू पेसाको छैन ।’
उनले यो पेसामा लगानी पनि गतिलैसित गरेका छन् । उनको फाम व्यवस्थापन र बङ्गुरसहित गरेर लगभग १ करोडको लगानी भएको छ । उनको व्यवस्थित फाममा यतिखेर ड्युरोप, योस्कार, लेण्डप र भाले हेमसार गरी चार प्रकार उन्नत जातका बङ्गुरहरू रहेका छन् । उनको ‘आमाको कृषि फाम’ नामको फाममा अहिले ४५ वटा बङ्गुर रहेका छन् । उनले यी बङ्गुरलाई आफ्नै सन्तानजस्तै माया गरेका छन् ।
लामो समयको वैदेशिक रोजगारीलाई अन्त्य गरेर उनी २०७५ सालदेखि यो पेसामा आएका हुन् । आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने ध्येयकासाथ उनले आफ्नो १२-१३ वर्ष जतिको विदेश बसाइलाई अन्त्य गरेर यो व्यवसाय सुरु गरे । त्यसो उनको विदेशबाट फर्किएर पनि ३-४ वर्ष जति समय त के गर्ने, कुन व्यवसाय संचालन् गर्ने भनेरै व्यतीत भयो । लामो समयको सल्लाह र परामर्श पछि उनले अन्त्यमा गाउँमै बङ्गुर पालन व्यवसाय सुरु गरे ।
कृषिमा भविष्य देखेर नै यो पेसामा लागेको बताउने गोविन्द्र कुनै पनि पेसामा लागे पछि त्यसलाई निरन्तरता दिनु पर्ने बिचार राख्छन् । गोविन्द आफू मात्र यो पेसामा लागेका छैनन् । अरूलाई पनि यो पेसामा ल्याउने र उनीहरूलाई सङ्गठित गर्ने काममासमेत उनी सक्रिय रहँदै आएका छन् । उनी नगरस्तरीय बङ्गुर व्यवसायी संस्थाको अध्यक्षसमेत रहेका छन् । अरू व्यवसायभन्दा बङ्गुर पालनमा तुरुन्तै नाफा नहुने, यसका लागि ठूलो लगानी र लामो मेहनत गर्नु पर्ने उनको मत रहेको छ । उनी भन्छन् –अरू पेसामा जस्तो यसमा तुरुन्त नाफा हुँदैन । यसको लागि ठूलो लगानी र लामो समयको मेहनतको आवश्यकता पर्छ ।’
यो पेसामा उनको पुरै परिवारको साथ र सहयोग रहेको छ । उनका श्रीमती, एउटी छोरी र बुबा आमा गरी पाँचजनाको परिवार रहेको छ । उनलाई यो पेसामा श्रीमतीले पुरै साथ दिएकी छिन् । स्नातकसम्मको अध्ययन गरेकी श्रीमती अनुराधाले पुरै समय साथ दिएकी छिन् । अनुराधा पनि अरूभन्दा कृषि पेसाकै राम्रो भविष्य रहेको बताउँछिन् ।
उनीहरूले बङ्गुरका साथै कुखुरा, माछा पालनसमेत गरेका छन् । हालसम्म आफ्नै परिवारले फामको काममा भ्याइ रहे पनि अब भने कामदार राख्नु पर्ने बेला भएको श्रीमती अनुराधा बताउँछिन् । उनी भन्छिन् –अहिलेसम्म त परिवारकै सदस्यले भ्याइरहेका छौँ । अब भने कामदार राख्नु पर्ने भएको छ ।’
बेलबारी –३ कृषि टोलमै रहेका अर्का किसान विकास राईले पनि लामो समयदेखि बङ्गुर पालन गर्दै आएका छन् । ३० वर्षीय राईसँग पनि लामो समयको वैदेशिक रोजगारको अनुभव रहेको छ । १० वर्ष विदेश बसेर फर्किएका विकासले पनि यही पेसामा भविष्य देखेको बताउँछन् ।
लोकल सुँगुरबाट व्यवसाय सुरु गरेका भए पनि हाल उनको फाममा १० वटा उन्नत जातका बङ्गुरका माउ रहेका छन् । उनी यसलाई बढाएर १५ माउ पुर्याउने सोचमा छन् । कृषि पेसा नाफाको व्यवसाय भएको बताउँने राई अरूलाई पनि यो पेसामा आउन आग्रह गर्छन् । उनी भन्छन् – राम्रो भविष्य देखेर नै यो पेसामा लागेको हुँ । अरू जस्तो यो पेसामा घाटा छैन । परीश्रम गर्न सक्दा कमाइ पनि राम्रो हुन्छ ।’
यता नगरपालिकाले पनि यस्ता कृषकलाई व्यवसाय प्रवर्धनमा सहयोग पुर्याउँदै आएको छ । बेलबारी नगरपालिका वडा नं ३ का अध्यक्ष योगेन्द्र सुवेदी पछिल्लो समय धेरै युवाहरू वैदेशिक रोजगारी त्यागेर स्वदेशमै केही गर्न थालेकोलाई राम्रो सङ्केत मान्छन् । उनी भन्छन् ‘युवाको कृषिमा आगमन राम्रो सङ्केत हो । नगरपालिकाले पनि यस्ता युवालाई विभिन्न कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको छ र गरिरहने छ ।’