एमसीसीको टोलीद्वारा राजनैतिक भेटघाटलाई तीव्रता : आज प्रधानमन्त्री देउवा र प्रचण्डलाई भेट्दै


काठमाडौँ, २५ भाद्र । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले राजनैतिक भेटघाटलाई तीव्रता दिएकी छिन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबाट सुरु गरेको उच्चस्तरीय राजनैतिक भेटघाटको दोस्रो दिन टोलीले आज (शुक्रवार) प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डलाई भेट्ने कार्यक्रम रहेको छ ।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले बिहीबार नै ओलीलाई भेटे पछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेको छ ।

बिहिवार कतार एयरवेजबाट काठमाडौँ भित्रिएको टोलीमा एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्ससमेत रहेका छन् ।

एमसिसी परियोजनाबारे नेपालमा चर्को विरोध भइरहेका बेला सुमारसहितको टोली नेपाल भ्रमण आएको हो । यता राजनैतिक पार्टी र जनस्तरमा भने एमसीसीको व्यापक विरोध भइरहेको छ । एमसीसी नेपालको हितमा नरहेको भन्दै सम्झौता नगर्न जनताले दवाव दिइरहेको बेलमा भएको यो भेटघाटलाई अर्थपूर्ण रूपमा लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्