एमसीसीको विरुद्धमा बेलबारीमा बिरोधसभा


बेलबारी, २३ भाद्र । देशैभर एमसीसीको विरोध भइरहँदा मोरङको बेलबारीमा पनि एमसीसी विरुद्ध विरोधसभा सम्पन्न भएको छ । बेलबारी नगरपालिका वडा नम्बर २ का वडावासीहरूको आयोजनामा बुधवार लालभित्तीमा साङ्केतिक रूपमा एमसीसी विरुद्ध विरोध सभाको सम्पन्न भएको हो ।

पूर्व पश्चिम लोकमार्गमै पर्ने लात्तालात्ती चौकमा स्थानीयद्वारा आयोजना गरिएको बिरोधसभामा बेलबारी नगरपालिका वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतम प्रमुख वक्ता रहेका थिए । 

वडाध्यक्ष गौतमले अफगानिस्तानमा रहेको युरेनियम सिद्ध्याएर अब अमेरिकाले नेपालमा रहेको युरेनियममा गिद्धे नजर लगाएको बताए । उनले एमसीसीमार्फत विश्वमा उदयमान राष्ट्र चिनको निगारानी गर्ने उद्देश्यले अमेरिका नेपालमा पस्न चाहेको आरोप लाए । उनले राष्ट्रको हितमा नभएकोले एमसीसी फिर्ता हुनुपर्ने र सङ्घीय सांसदहरूलाई समेत एमसीसीको विरोधमा आवाज उठाउन जोडदार माग गरेका थिए । 

सहभागीहरूले एमसीसी चाहिँदैन, राष्ट्रघात गर्न पाइँदैन भन्ने नारा लेखिएका कागजका टोपी लगाएर कार्यक्रममा सहभागिता जनाएका थिए । स्थानीय तुलसी ओझाले कार्यक्रमको बारेमा प्रस्ट पार्दै स्वागत मन्तव्य राखेका थिए । ज्येष्ठ नागरिक डिल्लीबहादुर थापाको अध्यक्षतामा सम्पन्न बिरोधसभाको संचालन् भने स्थानीय राजुदेव राईको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्