तालिबानद्वारा अफगानिस्तान ‘इस्लामिक एमिरेट’ को घोषणा


काठमाडौँ, २३ भाद्र । अफगानिस्तानमा मुल्लाह मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । सत्ता कब्जा गरेको लामो समयपश्चात् तालिबानले मङ्गलवार अन्तरिम सरकार घोषणा गरेको हो । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पत्रकार सम्मेलन मुल्लाह मोहम्मद हसन अखुन्द सरकार नेतृत्वको सरकारमा मुल्ला अब्दुल गनी बरादर उपप्रमुख रहेको जानकारी दिएका छन् । 

मुल्लाह मोहम्मद हसन अखुन्द तालिबानका संस्थापकमध्ये एक मानिन्छन् । सन् १९९०को दशकमा तालिबानको शासनकालमा उनी कन्दाहार राज्यको गभर्नर थिए । एफपी समाचार एजेन्सीका अनुसार तालिबानका सह–संस्थापक मुल्लाह ओमर निकटका मानिने ओमरलाई संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको छ ।

अब्दुल गनी बरादर तालिबान समूहका उपसंस्थापक पनि हुन् । उनी विगतमा अमेरिकासँग दोहामा भएको शान्तिवार्तामा सहभागी हुँदै आएका थिए ।

आन्तरिम सरकारको घोषणासँगै तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक एमिरेट’ को रूपमा घोषणा समेत गरेको छ । अफगानिस्तान ‘इस्लामिक एमिरेट’ अर्थात् इस्लामिक राज्यको रूपमा घोषणा भए पछि यहाँको काुनन तथा शासन पनि यही अनुसार चल्ने छ । 

प्रतिक्रिया दिनुहोस्