जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी विरोध प्रदर्शन गर्ने


काठमाडौँ, २१ भाद्र । राष्ट्रिय जनमोर्चाले एमसीसीका विरुद्ध भदौ २२ गते देशव्यापी विरोधका कार्यक्रमहरू गर्ने भएको छ । नेपाल सरकार तथा अन्य राजनैतिक पार्टीलाई एमसीसीका विरुद्ध सचेत विरोध कार्यक्रमको आयोजना गरिएको जनमोर्चाले जनाएको छ । 

अध्यक्ष चित्रबहादुर केसीले आइतबार प्रेस वक्तव्य जारी गर्दै गठबन्धनको सरकारले जारी गरेको न्यूनतम कार्यक्रममा एमसीसी समावेश नभएको र एमसीसी वा त्यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरू सरकारले यो अवधिमा नउठाउने भद्र सहमति भएको दाबी समेत गरेका छन् ।

एमसीसी नेपालको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रहितको विरुद्ध भएको भन्दै इन्डोप्यासिफिक रणनीतिको अङ्ग भएको जनमोर्चाको ठहर रहेको छ । जनमोर्चाले भदौ २२ गते मङ्गलवार ७७ वटै जिल्लामा विरोध सभा, जुलुस, कोणसभा, अन्तरक्रिया, गोष्ठी आदि गरेर एमसीसीको विरोध गर्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीले गर्ने उक्त विरोधका कार्यक्रम सफल पार्न जनमोर्चाले सबै तहका समिति, कार्यकर्ता, जनवर्गीय सङ्गठन तथा जनसमुदायहरूसँग अपीलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्